कोरोनाबाट बच्न सर्तक रहनुभन्दा अरु विकल्प छैन : राजेश हमाल

काठमाडौं  : विश्वभर डरलाग्दो रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को जोखिमबाट बच्न सरकारले अनेक उपाय अपनाइरहँदा ‘राज्यको गहना’ भनिने कलाकारहरुले पनि सामाजिक सञ्जालको माध्यमबाट सर्वसाधरणलाई आतंकित र भ्रमित नहुन आग्रह गरिरहेका छन् । रेखा थापादेखि साम्राज्ञी आरएल शाहसम्मले भिडियो सन्देशबाट सावधानी अपनाउन आग्रह गरेका छन् ।

यसबीच, अभिनेता राजेश हमालले पनि शनिवार साँझ फेसबुक लाइभमार्फत् कोरोनाबाट बच्नका लागि व्यक्तिगत सरसफाईमा ध्यान दिन सुझाव दिएका छन् । अहिलेसम्म कोरोनाविरुद्धको भ्याक्सिन निर्माण नभइसकेका कारण सर्तक रहनुभन्दा विकल्प अरु नभएको उनको भनाई छ । उनले आफूले पनि आफ्नो दैनिकीमा धेरै परिवर्तन ल्याएको फेसबुक लाइभमा भनेका छन् ।

पछिल्लो चार/पाँच दिनयता आफू घरमै सीमित भएको बताउँदै हमाल भन्छन्, ‘अत्यावश्यक कामभन्दा बाहेक घरभन्दा बाहिर ननिस्कनुस् । भीडभाडमा नमिसिनुस् । व्यक्तिहरुसँग छुन, अंकमाल गर्ने कार्यहरुबाट पनि टाढा रहनुस् । विशेषगरि आफ्नो सर-सफाइमा अत्यन्त ध्यान दिनुहोला ।’ अहिलेको अवस्थामा हात सफा राख्नु पहिलो प्राथमिकतामा रहेको उनी बताउँछन् ।

अभिनेता हमालले कोरोनाबाट बच्न ‘नमस्कार’ गर्ने संस्कार अपनाउन पनि आग्रह गरेका छन् । ‘एकअर्कालाई भेट्दा नेपालीहरुको नमस्कार गर्ने संस्कार छ । तर, अहिले आधुनिकताको नाममा हात मिलाउँछौं । यो प्रकोपले हामीलाई नमस्कार गर्ने संस्कार नै राम्रो थियो भन्ने सिकाउँछ जस्तो मलाई लाग्छ’, उनले भने । कोरोनापछि पनि नमस्कार गर्ने चलन बसाल्न उनी आग्रह गर्छन् ।

Leave a Reply

Your email address will not be published.