मौसमी रोगबाट सचेत बनौँ

सम्पादकीय  : चीनबाट फैलिएर विश्वभर फैलिएको कोरोना भाइरसको सन्त्रासले गाँजेको नेपालमा गर्मीयाम सुरु भएसँगै डेङ्गू ज्वरोका बिरामीहरु देखिएका छन् । प्रदेश ५ मा १४ जना, बागमती प्रदेशमा नौ जना, प्रदेश १ मा ६ जना, गण्डकी प्रदेशमा पाँच जना र सदूर पश्चिममा दुई जनामा डेङ्गू देखिएको इपिडिमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाले कोरोनाजस्तो महाब्याधीबाटजस्तै डेङ्गूबाट सचेत रहन आग्रह गरेको छ ।

अघिल्लो आर्थिक वर्षमा करिब तीन हजार ४ सय जनामा डेङ्गू देखिएको थियो । ३ जनाभन्दा बढीको त डेङ्गूकै कारण मृत्यु भएको थियो । यो वर्ष गर्मी सुरु भएसँगै डेङ्गू रोग फैलिएपछि सङ्ख्या अझ बढ्ने हो कि भन्ने आशङ्का उत्पन्न भएको छ । एकातिर गर्मी बढेपछि कोरोनाको भाइरसको सक्रियता घट्ने बताइएको छ भने अर्कोतर्फ डेङ्गूले ज्यान लिने हो कि भन्ने पिरलो थपिएको छ । गतवर्ष धरानबाट डेङ्गू देखिएको थियो । डेङ्गूको सङ्क्रमणको कारक भनेको एडिस एजिप्टाई प्रजातिको पोथी लामखुट्टे नै हो ।
डेङ्गू लागेपछि भाइरल ज्वरो आउँछ । आँखा रातो हुने र दुख्ने, टाउको, पेट, जोर्नी र मांसपेशी दुख्ने, तथा आलश्यता बढ्ने डेङ्गूका लक्षण हुन् । डेङ्गूले शरीरको रगत जम्ने प्रक्रियामा असर पु¥याउँछ र सङ्क्रमण बढ्दै जाँदा सम्पूर्ण शरीरमा नै रक्तस्राव हुनपुग्छ । डेङ्गूले ज्वरो बढाउँछ, शरीरमा सेता रक्तकोष घट्छन् र मान्छेको रोग प्रतिरोधात्मक क्षमता नासिन्छ । फलतः मान्छेको ज्यान जाने खतरा हुन्छ ।

सामान्य डेङ्गू ज्वरो, हेमोरेजिक र सक सिन्ड्रोम गरी डेङ्गू ज्वरो तीन प्रकारका हुन्छन् । दोस्रो र तेस्रो खतरनाक हुन्छन् । मुख्य कुरा, कोरोनाको जस्तै डेङ्गूको पनि उपचार छैन । बिरामीलाई रगत दिइने र चिकित्सकीय निगरानीमा राख्नु नै यसको उपचार पद्धति हो । यही सत्य बुझेर अघिल्लोवर्ष स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेङ्गू नियन्त्रणको लागि सेना नै परिचालन गर्नुपर्ने अवस्था आउन सक्ने बताएका थिए ।
लामखुट्टेको टोकाइबाट बच्नु नै डेङ्गूबाट जोगिने उत्तम उपाय हो । यसका लागि लामखुट्टेको नियन्त्रणमा जोड दिनुपर्छ । घर वरपर पानी जम्ने खाल्डा, अलकत्रा, मट्टितेल, डिजेल र पेट्रोलका खाली ड्रमहरु राख्नु हुँदैन ।

झुलको प्रयोग गर्नु सबैभन्दा राम्रो हुन्छ । गर्मीयाम सुरु हुँदै देखिएको डेङ्गू नियन्त्रणमा सरकारी प्रयास आवश्यक त छ नै, नागरिकहरु पनि आफ्नो स्वास्थ्यप्रति सचेत बनेमा मात्रै डेङ्गू सङ्क्रमणबाट बच्न सकिन्छ । नेपालको सन्दर्भमा कोरोनासँगै डेङ्गूबाट बच्नेतर्फ ध्यान पु¥याउनैपर्छ । रोग लागेर उपचार गर्नुभन्दा लामखुट्टेको वासस्थान नाष्ट गर्नु नै राम्रो हुन्छ । जसका लागि समाजमा सचेतना जगाउँदै घर वरिपरी पानी जम्ने खाल्डाखुल्डी पुर्नु आवश्यक छ ।

Leave a Reply

Your email address will not be published.