सत्यम् स्कूलद्वारा विद्यार्थीलाई व्यवहारिक शिक्षा

चितवन । भरतपुर महानगरपालिका वडा नम्बर ८ गौरीगञ्जमा रहेको सत्यम् स्कुलले व्यवहारिक शिक्षालाई जोड दिंदै विद्यार्थीहरुलाई अध्यापन गराउँदै आएको छ ।
विद्यालयले सैद्धान्तिक भन्दा पनि व्यवहारिक ज्ञानलाई प्राथमिकता दिएर विद्यार्थीलाई सीपमूलक अध्ययन गराउँदै आएको विद्यालयका प्राचार्य परशुराम पौडेलले बताए । गर्दै सिक्ने र पढ्ने लेख्ने पद्धती अपनाउँदै विद्यालयले २०७५ सालदेखि आफैले पाठ्यक्रम तयार पारेर पढाउँदै आएको पौडेलको भनाइ छ । शिक्षा र शैक्षिक क्षेत्रमा एक उत्कृष्ट र नयाँ आयाम थप्न प्रयत्नशील सत्यमु स्कुलले प्रविधिमैत्री र व्यवहारिक शिक्षामा विद्यार्थीको सर्वाङ्गिण विकासको हेतुले एक पूर्ण र उत्कृष्ट विद्यालयको छाप कायम राख्न सफल भएको पौडेलले बताए ।
विद्यार्थीहरुमा रहेको अन्तरनिहित प्रतिभा प्रष्फूटन गराउने उद्धेश्यले सञ्चालित विद्यालयमा विकसित देशहरुको पाठ्यक्रमसँग आधारित रही पाठ्यक्रम निर्धारण गरिएको उल्लेख गर्दै पौडेलले विशिष्ट किसिमको तालिम प्राप्त शिक्षकद्वारा पठनपाठन गराइने उनले बताए । बुधबार विद्यालयमा आयोजित पत्रकार सम्मेलनमा विद्यार्थीहरुले आफूले विद्यालयमा सिकेको ज्ञानलाई प्रस्तुत समेत गरेका थिए ।
कक्षा १ देखि पढाइने विद्यालयमा विद्यार्थीले कापीकिताब नबोकी पढ्दै सिक्दै गर्ने अवसर प्राप्त गर्नेछन् । बजारमा प्रतिस्पर्धी विद्यार्थी उत्पादन गर्न सक्ने तरीकाले पढाइदै आएको पौडेलको भनाइ छ । एउटा कक्षामा बढीमा २० जना विद्यार्थी भर्ना गरिने प्राचार्य पौडेलले बताए ।

Leave a Reply

Your email address will not be published.