गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला तीव्र गतिमा निर्माण हुँदै (फोटो)

चितवन : जनस्तरबाट पहिलोपटक निर्माण सुरु भएको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको काम धमाधम भइरहेको छ । धुर्मुस सुन्तली फाउण्डेसनको संयोजनमा चितवनको रामपुरमा निर्माणाधीन रंगशालामा तीव्र गतिमा काम भइरहेको फाउण्डेसनले जानकारी दिएको छ ।

रामपुरमा २२ बिघा १६ कट्ठा पाँच धुर जग्गामा बन्दै गरेको रंगशाला परिसरमा क्रिकेटसहित फुटबल ग्राउण्ड र कभर्डहल पनि निर्माण हुनेछ । परियोजनाको डिपिआरमा एक लाख ५४ हजार ५०६ वर्ग मिटर क्षेत्रमा रंगशाला निर्माण गर्ने र त्यसभित्र ३० हजार मानिस बसेर खेल अवलोकन गर्नसक्ने जनाइएको छ ।

रंगशाला निर्माणका लागि भ्याटबाहेक दुई अर्ब ६० करोड रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । ७० मिटर रेडियसको क्रिकेट मैदानमा पाँचवटा पिच हुनेछन् । भारतीय र अमेरिकन कम्पनीको परामर्शमा क्रिएटिभ डिजाइन आर्किटेक प्रालिले रंगशालाको डिपिआर तयार पारेको हो ।