अवैध रुपमा भित्रिएको सुन आपसमा बाँड्ने १७ प्रहरी निलम्बन गर्न निर्देशन

काठमाडौं : चीनबाट अवैध रुपमा नेपाल भित्रिएको सुन बरामद गरी बाँडफाँड गरेको आरोपमा रसुवाको सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षकसहित १६ जना प्रहरीलाई निलम्बन गर्न निर्देशन दिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले केरुङबाट अवैध रुपमा भित्रिएको सुन बरामद गरेर एकआपासमा बाँडफाँड गरेको उजुरी परेपछि प्रहरी प्रधान कार्यालय नक्साललाई पत्राचार गरी निलम्वन गर्न निर्देशन दिएको हो ।

आयोगले प्रहरी निरीक्षकदेखि जवानसम्मलाई पदबाट निलम्बन गर्न पत्र लेखेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए । गत पुस ११ गतेभित्रिएको केरुङबाट नेपाल आउँदै गरेको कन्टेनरबाट ४२२ ग्राम सुन सम्बन्धित निकायमा नबुझाइ एक आपसमा बाँडफाँड गरेको आयोगमा उजुरीपछि छानविन सुरु गरेको हो ।

निलम्बनमा परेका प्रहरीहरुमा प्रहरी निरीक्षक खेमप्रसाद नेपाल, प्रहरी नायव निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दार रामशरण रिमाल, प्रहरी हवल्दार पुरुषोत्तम खत्री, प्रहरी हवल्दार रामकाजी लामा, प्रहरी हवल्दार गोपीबहादुर लो तामाङ, प्रहरी जवान ताराबहादुर प्रजा, प्रहरी जवान शिवनारायण चौधरी, प्रहरी जवान भविलाल रुम्बा लामा, प्रहरी जवान रामचन्द्र वि. क., प्रहरी जवान रिता चौधरी, प्रहरी जवान मनोज आले, प्रहरी जवान छेक्यु डोल्मा मोक्तान, प्रहरी जवान युवराज खरेल र प्र.का.स.हरिबहादुर श्रेष्ठ रहेका छन् ।