दिल्लीमा जारी हिंसामा २७ जनाको मृत्यु, मुख्यमन्त्री केजरिवालद्वारा सेना परिचालन गर्न माग

नयाँ दिल्ली : नागरिकतासम्बन्धी कानुनलाई लिएर उत्तर पूर्वी दिल्लीमा भइरहेको हिंसामा २७ जनाको मृत्यु भएको छ। दिल्ली सरकारले त्यस क्षेत्रमा धारा १४४ लगाएपनि आज चौथो दिन पनि प्रदर्शनकारीले विभिन्न ठाउँमा विरोध प्रदर्शन गरिरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

हिंसामा परी २ सय ५० भन्दा धेरै घाइते भएका छन्। प्रधानमन्त्री नरेन्द्र मोदीले शान्ति अपनाउन प्रदर्शनकारीसँग अपिल गरेका छन्। यसअघि दिल्लीका मुख्यमन्त्री अरविन्द केजरिवालले पनि हिंसाले कसैको राम्रो नहुने भन्दै शान्ति अपनाउन आग्रह गरेका थिए।

केजरिवालले हिँसा फैलिएको क्षेत्र भजनपुर, घोँडा, यमुना विहार, जान्दबाग, करावललगायत स्थानमा अवस्था चिन्ताजनक भएको भन्दै सेना परिचालन गर्न गृहमन्त्रालयलाई आग्रह गरेका छन्। उनले सेना परिचालन गरेर सो क्षेत्रमा कर्फ्यु लगाउन आग्रह गरेका हुन्।