बालुवाटारमा ओली-प्रचण्डबीच भेटवार्ता : एमसिसी कार्यदलले बुझायो प्रतिवेदन

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा छलफल भएको अध्यक्ष निकट स्रोतले जनाएको छ ।

अध्यक्षद्वयलाई एमसिसी कार्यदलको तर्फबाट वरिष्ठ नेता एवं कार्यदलका संयोजक झलनाथ खनालले प्रतिवेदन बुझाएका छन् । कार्यदलले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)को अनुदानका विभिन्न पक्षकोे अध्ययन गरेर बनाएको प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको हो ।

एमसिसीका विभिन्न पक्षको अध्ययन गरेर प्रतिवेदन तयार पारेको कार्यदल सदस्य रहेका नेता भीम रावलले जानकारी दिए । अब नेकपाको सचिवालय बैठकले एमसिसी कार्यदलले बुझाएको प्रतिवेदनको अध्ययन गरेर निर्णय गर्नेछ ।

नेकपा केन्द्रीय कमिटी बैठकले खनालको संयोजकत्वमा रावल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सदस्यरहेको एमसिसी कार्यदल गठन गरेको थियो ।

१० दिनका लागि समय दिएको कार्यदलले थप १० दिनपछि आज आफ्नो प्रतिवेदन अध्यक्षद्वय ओली र प्रचण्डलाई बुझाएको हो ।