रत्ननगरको कपरफोरी माविमा विद्यालय भवन उद्घाटन

चितवन : रत्ननगर ९ टिकौलीमा रहेको कपरफोरी माविमा निर्माण गरिएको विद्यालय भवनको शुक्रवार उद्घाटन गरिएको छ । एडक्याम्स एण्ड एक्जुनोबल संस्था र त्यस संस्थाका स्वयम सेवकहरुको सहयोगमा संस्थाका नेपाल संयोजक दीपक अधिकारीको नेतृत्व तथा लीला बहादुर भण्डारीको संयोजनमा भवन निर्माण गरिएको हो । ७० लाखको लगानीमा ६ कोठे भवन निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु कट्टेलले जानकारी दिए । प्रदेश सभा साँसद कृष्णप्रसाद खनालले विद्यालय भवनको उद्घाटन गर्दै पूर्वाधारसंगै शिक्षाको गुणस्तरमा ध्यान दिन शिक्षकहरुलाई आग्रह गरे । सामुदायिक विद्यालयमा शिक्षण शिकाइलाई प्रभावकारी बनाउनु पर्ने देखिएको छ उनले भने पूर्वाधार निर्माणको चिन्ता लिनु पर्दैन,त्यो सरकारले बनाउछ । कार्यक्रममा विद्यालयको शैक्षिक विकासमा योगदान गरेका पूर्व प्रधानाध्यापक इन्द्रविलास न्यौपाने,सहायक प्रधानाध्यापकहरु कृष्ण विलास ढुंगाना,जगदिश खनाल,पूर्व शिक्षकहरु हरिहर सापकोटा,विद्या शर्मा,दीपेन्द्र रेग्मी,विष्णु पौडेल,हिरालाल गौडेल,किरण खनाल,राजेन्द्र प्रसाद रिजाल,कार्यालय सहयोग गोपाल रिमाललाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक विष्णु कट्टेलले जानकारी दिए । पूर्व कार्यालय सहयोगी स्वः छन्नु चौधरीलाई मरणोप्रान्त सम्मान गरिएको उनले जानकारी दिए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा वडा नं ९ का वडाध्यक्ष रोशन आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व सांसद तथा शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, प्रदेश सांसद कन्चन खनाल, नेकपाका नगर अध्यक्ष कुलप्रसाद लामिछाने,नेपाली काँग्रेसका नगर सभापति रुपनराज घिमिरे,विद्यालयका ज्येष्ठ सदस्य प्रेमबहादुर मल्ल,अभिभावक जगदिश बराल,शिक्षाप्रेमी डा.बसन्त अधिकारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा कार्यपालिका सदस्य सरस्वती लामा,वडा सदस्यहरु गायन्त्री विक,मनबहादुर थापा,कमानसिंह चौधरी लगायतको सहभागिता रहेको थियो । विद्यालयको गतिविधिको विषयमा जानकारी गराउदै प्रधानाध्यापक कट्टेलले अब विद्यालयले अंग्रेजी माध्यम र नेपाली माध्यमलाई समानरुपमा अगाडि बढाउने र त्यसका लागि वडा कार्यालय र टिकौली मध्यवर्ती सामुदायिक वनले सहयोग गर्ने प्रतिबद्धता व्यक्त भएको बताए । शिक्षक प्रतिनिधि सीता पौडेलले स्वागत मन्तव्य तथा ऋषि गौतम गौतमले धन्यवाद मन्तव्य राखेका थिए । सो संस्थाले विद्यालयका विद्यार्थीहरुका लागि शैक्षिक तथा खेलकुदका सामाग्री समेत सहयोग गरेको छ ।