सेना दिवसमा आयोजित भलिबलमा राष्ट्रसेवक विजयी

चितवन । नेपाली सेना दिवस २०७६ को अवसर पारेर चितवनको भरतपुरमा भएको मैत्रीपूर्ण भलिबल प्रतियोगितामा राष्ट्रसेवक विजयी भएका छन् ।
दिवसको अवसर पारेर जिल्लावासी र जिल्लामा कार्यरत राष्ट्रसेवकबीच भएको भलिबल प्रतियोगितामा राष्ट्रसेवकले ३–२ को सेटमा जित निकालेको हो । निकै नै प्रतिस्पर्धात्मक खेलको पहिलो सेटमा २५–१९ को जित निकालेको सेनाले दोस्रो र तेस्रो सेटमा लय गुमाएको थियो ।
दोस्रो र तेस्रो सेटमा जिल्लावासीको समूहले २७–२५ र २५–२१ विजयी भएपनि प्रतियोगिता जित्न असफल भयो । सो प्रतियोगिताको चौँथो र पाँचौँ सेटमा राष्ट्रसेवकको समूहले २५–२१ र १५–८ को सहज जीत निकालेको थियो ।
प्रतियोगिताको विजेता राष्ट्रसेवकको समूहलाई चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले मेडल तथा ट्रफी प्रदान गरेका थिए । साताब्यापी कार्यक्रम गर्दै सेना दिवस मनाइएको कालिबहादुर गण भरतपुरका गणपति प्रमुख सेनानी विज्ञान राज खनालले बताए । सेनाले आयोजना गरेको मैत्रीपूर्ण खेलका कारण सर्वसाधारण नागरिक र नेपाली सेनाबीचको सम्बन्ध सुमधुर हुने खनालको भनाइ छ ।