जिरौनाको ‘धर्मधाम’ पर्यटकीय गन्तव्य बन्दै

चितवन : पूर्वी चितवनको रत्ननगर नगरपालिका वडा नं. १२ जिरौनामा रहेको ‘धर्मधाम’ चितवन आउने आन्तरिक पर्यटकहरुको मुख्य गन्तव्यको रुपमा विकास भएको छ ।

चितवन घुम्न आउने आन्तरिक पर्यटकहरु सो मन्दिरको दर्शन गर्न, मन्दिर अवलोकन गर्न र त्यहाँको कलात्मक शैली हेर्न पुग्ने गरेका छन् । शिखर गुम्वज शैलीको सो मन्दिर कृष्ण प्रणामीहरुका लागि नेपालकै ठूलो र महत्वपूर्ण मन्दिर रहेको छ ।

चितवन आउने आन्तरिक पर्यटकहरु मध्ये मन्दिरमा दैनिक पाँच सय भन्दा बढी पर्यटकहरु आइपुग्ने गरेको कृष्ण प्रणामी सेवा समिति, मन्दिर व्यवस्थापन समितिका अध्यक्ष श्याम बरालले जानकारी दिनुभयो ।

चितवन लगायत काडमाडौँ, पोखरा तथा देशैभरीका सबैजसो जिल्लाका पर्यटकहरु यहाँ आइपुग्ने गरेको अध्यक्ष बरालले बताउनुभयो । भ्रमणमा आउने विद्यार्थी, आमा समूह, बचत समूह, सहकारी संस्था लगायत विभिन्न संघ संस्थाबाट धेरै पर्यटकहरु आएको उहाँले बताउनुभयो ।

मन्दिरमा कृष्ण जन्माष्टमी पर्वमा विशेष मेला लाग्ने गर्दछ भने हिन्दुहरुको बिभिन्न चाडपर्वमा समेत पुजा गर्ने भक्तजनहरुको घुइँचो लाग्ने समितिका धार्मिक उपाध्यक्ष पण्डित प्रेमानन्द शास्त्रीले जानकारी दिनुभयो ।

उक्त मन्दिरमा मुख्य रुपमा राधाकृष्णको पुजा गरिन्छ भने शिव–पार्वती, गणेश, कुमार, लक्ष्मीलगायतको पनि पुजा अर्चना हुने गर्दछ । मन्दिरमा हरेक दिन बिहान पुजा आरती र साझ पुजा आरती तथा भजनकिर्तन समेत हुने पाठपारायण समितिका संयोजक पण्डित केशरप्रसाद खतिवडाले बताउनुभयो ।

मन्दिरमा पुजाअर्चनाको अतिरिक्त वृद्धाश्रम समेत रहेको छ । सो वृद्धाश्रममा १० जनालाई समितिको तर्फबाट सम्पूर्ण सुविधासहित राख्ने व्यवस्था मिलाइनुका साथै मन्दिरमा घुम्न आउने पर्यटक तथा तीर्थालुहरुलाई हरेक दिन एक सय जनासम्मलाई बस्न र खाना खुवाउने व्यवस्था समेत रहेको छ ।

त्यस्तै आश्रममा मन्दिरका मुख्य गाधीपति बालब्रम्हचारी महन्त श्री एक सय आठ राजेन्द्रदास महाराज समेत बस्दै आउनुभएको छ । मन्दिरको आफ्नै अतिथि सदनमा अतिथिहरुलाई राख्ने व्यवस्था मिलाइएको छ भने मन्दिर परिसर भित्रै रहेको भान्सा घरमा खाना खाने प्रवन्ध छ ।

विवाह, ब्रतवन्धको लागि मण्डपको व्यवस्था छ भने बिभिन्न गोष्ठी, साधारण सभा गर्नको लागि आफ्नै सभाहल रहेको छ । मन्दिरको आफ्नै पुस्तकालय समेत रहेको समितिका अध्यक्ष बरालले बताउनुभयो

मन्दिर परिसरभित्रै असहाय र विपन्नहरुका लागि निःशुल्क कपडा बैंकको स्थापना गरिएको छ । सो बैंकबाट दिनहुँ निःशुल्क कपडाहरु वितरण भइरहेको छ । सो बैंकलाई मन्दिरका युवा परिषद् तथा लायन्स क्लव अफ रत्ननगर मिड नेपालले सहयोग गर्दै आएको छ । करिव १५ कठ्ठा क्षेत्रफलमा फैलिएको सो मन्दिरको बिभिन्न स्थानमा करिव २८ कठ्ठा जग्गा रहेको छ ।

गुरुकुल सञ्चालन गरी अध्ययन अध्यापन गराउने उद्देश्य समेत उक्त मन्दिरमा पर्यटकीय पार्क बनाउने लक्ष्य रहेको अध्यक्ष बरालले जानकारी दिनुभयो । जिल्ला समन्वय समिति चितवनले भ्रमण वर्ष २०२० लाई लक्षित गरी चितवनमा ५० वटा पर्यटकीय गन्तव्यको सूची सार्वजनिक गरेको छ ।

सो सूचीमा धर्मधामलाई विशेष प्राथमिकताका साथ राखिएको छ । सो धर्मधाममा चार तले राधाकृष्णको मुख्य मन्दिरका अतिरिक्त सुसज्जित पानीको फोहोरा, लालवृक्ष र हरावृक्ष तथा आधुनिक शौचालय समेत रहेको छ । कलात्मक सो मन्दिरका भित्ताहरु तथा ढोकामा विभिन्न देवीदेवताको आकर्षक मूर्तिहरु कुँदिएका छन् ।

मन्दिरमा युवायुवती तथा सबै उमेरका पर्यटकहरु सेल्फी तथा फोटो खिच्न बढी आकर्षिक भएको समेत पाईन्छ । काठमाडौँबाट भरतपुरमा आफन्तको घर आएकी श्रद्धा बोहोराले आकर्षक मन्दिरमा फोटो खिच्न पाउँदा खुसी लागेको बताउनुभयो ।

सो धर्मधाम २०७४ साल फागुन ८ गते राष्ट्रपति विद्यादेवी भण्डारी एक भव्य कार्यक्रमका बीच उद्घाटन गर्नुभएको थियो । सात करोडभन्दा बढी लागतमा उक्त मन्दिर निर्माण कार्य सम्पन्न भएको थियो ।