काखबाटै खोसेर विदेश

काठमाडौं :  सिन्धुपाल्चोक कठरीका मञ्जु–भीमसेनबहादुर खड्का दम्पती राजधानीमा मकै पोलेर जीविकोपार्जन गर्थे ।उनीहरूका तीन छोरामध्ये दुई थिए– रामकुमार र बालकृष्ण । उनीहरूको अवस्था देखेर एक दम्पतीले बालमन्दिरमा राखिदिने बताए ।

खाने, बस्ने र पढ्ने व्यवस्था त्यहीं हुने सुनेपछि आमा–बुवाले खुसीसाथ पठाइदिए ।घटना १० वर्षअघिको हो । उनीहरूको उमेर क्रमशः ८ र ६ वर्ष थियो । बालगृहले लामो समयसम्म खड्का दम्पतीलाई सन्तानसँग भेट्न दिएन ।

उल्टै ज्यानको धम्की आउन थाल्यो । बाध्य भएर उनीहरूले राष्ट्रिय मानवअधिकार आयोगमा उजुरी दिए । आयोगले ती बालकको खोजी गर्‍यो ।

पत्ता लाग्यो– नेपालबाट हराएका ती बालक इटाली पुर्‍याइएका रहेछन् ।

घटना अनुसन्धान गरिरहेकी आयोगकी उपनिर्देशक मञ्जु खतिवडा भन्छिन्, ‘पढाइदिने प्रलोभनमा लगेको बालगृहले नै फर्जी कागज बनाएर ती बालक इटाली पुर्‍याइएको पाइयो । सकेसम्म नफस्ने तरिकाले कागजात तयार पारेको भेटियो ।’

घटना अनुसन्धानपछि आयोगले सरकारको ध्यानाकर्षणसमेत गरायो । आयोगको निर्णयमा भनिएको छ, ‘ती बालकलाई बाल संगठन नक्सालमार्फत धर्मपुत्रका रूपमा पठाएको भन्ने देखिँदा धर्मपुत्रसम्बन्धी कानुनी व्यवस्था, नीतिसमेत आवश्यक संशोधन गर्न, जनचेतना र सचेतना वृद्धि गर्नरगराउन र आफ्ना बालबालिकाको संरक्षण गर्ने दायित्व अभिभावक बाबुआमा स्वयंको हुने भएकाले त्यसतर्फ सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न÷गराउन सरकारलाई नीतिगत सिफारिस गर्ने ।’

सयौं छोराछोरीलाई सरकारी रेकर्डमा नराखी धर्मपुत्ररपुत्री बनाएर विदेश पुर्‍याइएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको अभिलेखअनुसार सन् २०१० देखि २०१९ जुलाईसम्म अमेरिकासहित १० मुलुकमा ६४ बालबालिका धर्मपुत्र–धर्मपुत्री बनाएर लगिएको छ ।

तर अमेरिकी स्टेट डिपार्टमेन्टको अभिलेख र ९ मुलुकले नेदरल्यान्डस्थित अन्तरसरकारी निकाय ‘हेग कन्फ्रेन्स अन प्राइभेट इन्टरनेसनल ल’ ९एचसीसीएच०लाई बुझाएको सूची जोड्दा २४२ जना पुग्छ ।

अमेरिका, डेनमार्क, फ्रान्स, नर्वे, स्विट्जरल्यान्ड, क्यानडा, जर्मनी, बेल्जियम, इटाली र स्विडेनका यी तथ्यांकले चोर बाटोबाट बालबालिका तस्करी हुने गरेको प्रस्टै भएको खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा आकाश क्षेत्रीले लेखेका छन् ।