रौतहट प्रहरीको मोस्ट वान्टेड सूचिमा रहेका पटेल गोली प्रहार गरी पक्राउ

रौतहट : मोस्ट वान्टेड सूचिमा रहेका जनतान्त्रिक तराई मुक्ति मोर्चाका रौतहट जिल्ला इन्चार्ज अभय भनिने कामेश्वर पटेललाई प्रहरीले गोली प्रहार गरी पक्राउ गरेको छ । मंगलबार राति मौलापुर–८, सोनरनिया घर घएका पटेल धन्सार–जैगलसैयास्थित जंगलको बाटो भएर गाउँ पस्न लाग्दा राति करिब ९ बजे रौतहट प्रहरीले गोली प्रहार गरी उनलाइ पक्राउ गरेको हो ।

प्रहरीको २ वटा गोली बाँयाँ खुट्टामा लागेर उनी घाइते भएका छन् । प्रहरीले पक्राउ गर्न खोजेपछि पटेलले पेस्तोलबाट गोली प्रहार गर्दा जवाफी कारबाहीमा प्रहरीले गोली प्रहार गरी उनलाई पक्राउ गरेको जनाएको छ ।

पटेलको खुट्टामा गोली लागेको रौतहटका प्रहरी उपरीक्षक रविराज खड्काले जानकारी दिए । प्रहरीलाई देख्न साथ पेस्तोल निकालेर दुई राउण्ड गोली प्रहार गरेपछि जवाफी कारबाहीमा उनको खुट्टामा गोली लागेर घाइते भएपछि पक्राउ गरेको उपरीक्षक खड्काको भनाइ छ ।

घटनास्थलबाट पटेलले बोकेको एक थान पेस्तोल र चार राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । जिल्लाभित्र चन्दा, अपहरण, हत्याका घटनामा संलग्न र दर्जनौ फौजदारी मुद्दा पटेलमाथि रहेकाले उनी प्रहरीको मोस्ट वान्टेड सूचिमा थिए ।