सरकारलाई कोरोना भाइरसले झस्कायो, देशभरि ४१६ चिकित्सक, नर्स र प्राविधिक खटाइयो

काठमाडौ : चीनमा कोरोना भाइरसले महामारीको रुप लिइरहेका बेला सतर्कता अपनाउँदै सरकारले देशभरि सम्भावित महामारी र प्रकोप नियन्त्रण गर्न ४ सय १६ जना चिकित्सक, नर्स र प्राविधिक खटाएको छ। सम्भावित महामारीको सामना गर्न आवश्यक पर्ने तालिम प्रदान गरी उनीहरुलाई देशभरि खटाइएको हो।

तालिमप्राप्त ४ सय १६ जना चिकित्सक, नर्स र प्राविधिहरुका बारेमा सबै ७ सय ५३ वटै स्थानीय तहलाई जानकारी दिइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत् ती चिकित्सक, नर्स र प्राविधिकको सम्पूर्ण विवरण स्थानीय तहहरुमा पठाएको हो।

पत्रमा ती डाक्टर, नर्स र प्राविधिकलाई सम्भावित संक्रामक रोगको प्रकोप तथा महामारीको समयमा परिचालन गर्न गराउन स्थानीय तहलाई भनिएको छ।

‘महामारीको पूर्व तयारी, प्रतिकार्य, बिरामीहरुको उपचार व्यवस्थापन तथा शंकास्पद संक्रामक रोगहरुको प्रयोगशाला परीक्षणको नमूना संकलन र ढुवानीसम्बन्धी कार्यहरु गर्न स्वास्थ्यकर्मीहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान गरिएकाले सम्भावित संक्रामक रोगको प्रकोप तथा महामारीको समयमा परिचालन गर्न गराउन सबै स्थानीय तहहरुमा समन्वय तथा पत्राचार गरिदिन हुन निर्देशानुसार अनुरोध छ,’ स्वास्थ्य मनत्रालयले संघीय मामिलालाई लेखेको पत्रमा उल्लेख छ।

चीनमा सन् २०१९ डिसेम्मबर अन्तिम साताबाट कोरोना भाइरसको महामारी फैलिएपछि नेपाल सरकारले यस्तो सतर्कता अपनाएको हो। चीनमा सोमबारसम्म कोरोना भाइरसका कारण करिब १९ सय जनाको ज्यान गइसकेको छ भने ७० हजारभन्दा बढीमा यसको संक्रमण रहेको छ।

प्रदेश १ मा ३२ जना, प्रदेशमा २ मा ३७, बागमती प्रदेशमा ३८, गण्डकी प्रदेशमा ३१, प्रदेश नं.५ मा ३७, कर्णाली प्रदेशमा ३१ र सुदूर पश्चिम प्रदेशमा २३ जना चिकित्सक र नर्सलाई आवश्यक तालिम प्रदान गरेको छ।

नेपालले कोरोना भाइरसको केन्द्रविन्दु चीनको हुबेई प्रान्तको राजधानी उहानबाट १ सय ७५ जना नेपालीको उद्धार गरी आइतबार भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रमा ‘क्वारेनटाइन’मा राखेको छ।

कोरोना भाइरस विश्वका २६ भन्दा बढी देशमा देखिसकेको छ। केही दिनअघि चीन भ्रमण गरी फर्केका एक जना नेपालीमा पनि यो भाइरस भेटिएको थियो।

भविष्यमा आइपर्ने सम्भावित जोखिमको सामना गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक, नर्स र प्राविधिकलाई आवश्यक तालिम दिई देशभर खटाएको हो।

महामारी तथा रोग नियन्त्रण माहाशाखाले यही फागुन १ गते स्वास्थ्य मन्त्रालयलाई ती चिकित्सक, नर्स र प्राविधिकको सूची पठाएको थियो। त्यसपछि स्वास्थ्य मन्त्रालयले फागुन ४ गते सबै स्थानीय तहलाई जानकारी दिन भन्दै संघीय मामिलालाई पत्र लेखेको थियो।

संघीय मामिला मन्त्रालयले सोमबार एकसाथ ७ सय ५३ वटै स्थानीय तहलाई पत्र पठाई आवश्यक परेको खण्डमा ती डाक्टर, नर्स र प्राविधिकलाई परिचालन गर्न भनेको हो।

स्वास्थ्य तथा नजसंख्या मन्त्रालयले सरकारी अस्पतालहरुमा कार्यरत प्रदेश १ मा ३२ जना, प्रदेशमा २ मा ३७, बागमती प्रदेशमा ३८, गण्डकी प्रदेशमा ३१, प्रदेश नं.५ मा ३७, कर्णाली प्रदेशमा ३१ र सुदूर पश्चिम प्रदेशमा २३ जना चिकित्सक र नर्सलाई आवश्यक तालिम प्रदान गरेको छ। बाँकी तालिम दिएर खटाएकामा निजी अस्पतालमा कार्यरत चिकित्सक र नर्स छन्।

यस्तै, देशभरका विभिन्न अस्पतालमा कार्यरत १ सय १९ जना प्राविधिकलाई पनि उक्त तालिम दिइएको छ।