सीमाक्षेत्रमा फेरि भारतको हस्तक्षेप

काठमाडौं : भारतीय पक्षले दार्चुलाको व्याँस गाउँपालिकाको सीमावर्ती नेपाली भूमिमा फेरि हस्तक्षेप गरेको छ । भारतीय पक्षले महाकाली नदीमा एकतर्फी काठेपुल राख्नुका साथै नेपाली भूमिमै आएर डोजर प्रयोग गरी सयौं मिटर सडक खनेको छ ।

भारतीय पक्षले व्यास–२ को दोपखे क्षेत्रमा सीमानदी महाकालीमा काठेपुल निर्माणका साथै नेपाली भूमिको प्रयोग र प्राकृतिक साधनको दोहन गरिरहेको छ । नेपाली जंगलको प्रयोगदेखि लिएर नेपाली भूभागमै सुरक्षा गस्तीको काम भारतीय सुरक्षा बलले गरिरहेको छ ।

भारतमा सडक निर्माणको बहानामा नेपाली भूमिको दोहन तथा सडकमा प्रयोग गरिएका विस्फोटक पदार्थका कारण नेपालतर्फ गम्भीर क्षति पुगेको छ ।

भारतले व्यास गाउँपालिका–१ र २ को सीमावर्ती क्षेत्रमा करिब डेढ सय मिटर तथा त्यसकै अढाइ सय मिटर परको दूरीबाट करिब तीन सय मिटर सडक बनाएको पाइएको छ ।

भारतले एकतर्फी रुपमा सीमा क्षेत्रमा निर्माण गरिरहेको सडकका कारण महाकाली नदीको बहाव थुनिने, नदी क्षेत्र साँघुरिनुका साथै नेपालतर्फको घोडेटो बाटोमा समेत क्षति पुगेको छ ।

भारतीय पक्षले २०७४ सालमा पनि नेपाललाई जानकारी नदिई अन्तर्राष्ट्रिय सीमानदी महाकालीमा काठेपुल राखेको र नेपाली भूमिमै आएर डोजर ओसारपसार गर्न ठाउँ–ठाउँमा सडक खनेको थियो ।

यसपटक पनि सोही कार्य दोहो¥याएको छ तर यसबारे नेपाली पक्षलाई खासै खबर नभएको समाचार आजको नागरिक दैनिकमा प्रेम चुनाराले लेखेका छन् ।