‘कोरोना’बाट चीनमा थप सय जनाको मृत्यु

एजेन्सी : चीनको हुबेई प्रान्तमा आइतबार थप सय जनाले ‘कोरोना भाइरस’को सङ्क्रमणबाट ज्यान गुमाएका छन्। चिनियाँ स्वास्थ्य अधिकारीले दिएको जानकारी अनुसार आइतबार हुबेईमा सय जनाको मृत्यु भएको हो।

यससँगै हुबेईमा मात्र कोरोना भाइरसबाट मृत्यु हुनेको सङ्ख्या १ हजार ६ सय ९६ पुगेको छ भने विश्वभर कूल १ हजार ७ सय ७० पुगेको छ।

आइतबार थप १ हजार ९ सयभन्दा बढीमा उक्त भाइरसको सङ्क्रमण भेटिएको हुबेईका अधिकारीले जनाएको छ। कोरोनाको उत्पत्तिस्थल हुबेईमा हालसम्म सङ्क्रमितको सङ्ख्या ५८ हजार १ सय ८२ पुगेको छ। विश्वभर गरेर यो सङ्ख्या ७१ हजार २ सय ४ पुगेको छ।

हुबेई प्रान्तको राजधानी उहानबाट सुरु भएको उक्त भाइरसको सङ्क्रमण हाल विश्वका ३० भन्दा बढी मुलुकमा फैलिसकेको छ। उक्त भाइरस नियन्त्रणका लागि प्रयास गरिरहेको भए पनि हालसम्म सफल हुन सकेको छैन।