चीनको उहानबाट १७५ नेपाली लिएर उड्यो जहाज, ज्वरो देखिएका ६ जनालाई चीन सरकारले आउन दिएन

 

सुरेन्द्र पौडेल, काठमाडौं : कोरोना भाइरस प्रभावित चीनको हुबेई प्रान्तको राजधानी उहानबाट १ सय ७५ जना नेपाली लिएर नेपाल वायु सेवा निगमको वाइडबडी विमान नेपालतर्फ उडेको छ।

उहानबाट १ सय ८५ जनालाई ल्याउने तयारी गरिए पनि स्वास्थ्य परीक्षणका क्रममा ६ जनामा ज्वरो देखिएपछि चीनले उनीहरूलाई विमानस्थलमै रोकेको छ। अन्य चार जना भने स्वइच्छाले आउन नचाहेको बेइजिङस्थित नेपाली दूतावासका उपनियोग प्रमुख सुशीलकुमार लम्सालले जानकारी दिए।

विमानमार्फत आउन लागेका १ सय ७५ जनामध्ये १ सय ७० जना विद्यार्थी, २ जना भ्रमणका लागि गएका, १ जना कामका लागि गएका र १ जना बच्चा रहेको बताइएको छ।

चीन सरकारले नेपालीहरूलाई नेपाल पठाउनुअघि विमानस्थलमा स्वास्थ्य परीक्षण गरेको थियो। त्यस क्रममा ६ जनालाई ज्वरो आएका कारण नेपाल आउनबाट रोकेको हो।

चीन सरकारले यसअघि नै ज्वरो र रूघाखोकी लागेकालाई नपठाउने बताएको थियो।

यस्ताे छ तयारी

निगमको २ सय ७८ सिटे ‘वाइडबडी’ विमान नेपाली समयअनुसार आइतबार बिहान २:१५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ।

काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउनेबित्तिकै पनि उद्धार गरी ल्याइएका नेपालीको स्वास्थ्य परीक्षण गरिनेछ। स्वास्थ्य परीक्षण गर्दा रूघाखोकी लागेका र कोरोना भाइरस सङ्क्रमण भएको पाइए उनीहरूलाई राजधानीका विभिन्न अस्पतालमा भर्ना गरिनेछ। सरकारले यसका लागि विभिन्न अस्पतालमा १ सय ४७ वटा ‘आइसोलेसन’ बेड तयार पारेको छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य परीक्षण गर्दा कोरोना भाइरस सङ्क्रमणको कुनै लक्षण नदेखिएकालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा राखिनेछ। उनीहरूलाई १५ दिन ‘क्वारेन्टाइन’ (अलग्गै) राखिनेछ। उहानबाट उद्धार गरी ल्याइएकालाई राख्न खरिपाटीमा चारवटा ब्लकमा १ सय ९९ वटा बेड तयार पारिएको छ।

क्वारेन्टाइनमा १५ दिन राख्दा कसैलाई रूघाखोकी नलागे र कोरोना भाइरसको सङ्क्रमण नभए मात्र उनीहरूलाई आ-आफ्नो घर पठाइनेछ।

सन् २०१९ को डिसेम्बर अन्तिम साता उहानमा पहिलोपटक कोरोना भाइरस देखिएको थियो। त्यसयता उक्त भाइरसको सङ्क्रमणबाट चीनमा १ हजार ३ सय ८२ जना र फिलिपिन्समा १ गरी कूल १ हजार ३ सय ८३ जनाको मृत्यु भइसकेको छ। चीनमा मात्र ६४ हजारभन्दा बढीमा यो भाइरसको सङ्क्रमण देखिएको छ। चीनलगायत विश्वका २७ देशमा ६४ हजार ४ सय ३५ जनामा यो भाइरस भेटिएको छ।

कोरोना भाइरसको कारण हुबेई प्रान्तमा भयावह स्थिति सिर्जना भएपछि विश्वका ३३ भन्दा बढी देशले त्यहाँबाट आफ्ना नागरिकको उद्धार गरेका छन्। यसै क्रममा नेपालले पनि हुबेई प्रान्तमा रहेका १ सय ८२ जना नेपालीलाई शनिबार राति उद्धार गरी नेपाल ल्याउन लागेको हो।