यातायात कार्यालयबाट ‘बिचौलिया’ पक्राउ

काठमाडौं : यातायात व्यवस्था कार्यालय एकान्तकुना बिचौलियाको काम गर्ने लक्ष्मणबहादुर सुनारलाई प्रहरीले पक्राउ गरेको छ।

शुक्रबार महानगरीय प्रहरी परिसर जावलाखेलबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

बाजुरा स्थायी घर भएका सुनारलाई अधिकृतको दस्तखत र सरकारी छाप कीर्ते गरेको अभियोगमा पक्राउ गरिएको परिसरका प्रवक्ता डिएसपी सन्तोष तामाङले जानकारी दिए।

मुलुकी अपराध संहिता २०७४ को लिखतसम्बन्धी कसूरको परिच्छेद २५ को दफा (२७६) उपदफा २ (ख) को २ अनुसार कसूर प्रमाणित भए उनीमाथि ७ वर्षसम्म कैद सजाय र ७० हजार रुपैयाँसम्म जरिवाना हुनसक्ने डिएसपी तामाङले बताए।

पक्राउ परेका सुनारलाई महानगरीय प्रहरी परिसर जावलाखेलमा राखी अनुसन्धान अगाडि बढाइएको छ।