डिभोर्सपछि रामकृष्ण र निलमको प्रेम उपहार

 काठमाडौं : गायक रामकृष्ण ढकालको डिभोर्स मुद्दा यतिबेला सञ्चारमाध्यमबाट ओझेल परिसकेको छ। अदालतमा जे-जे भए पनि रामकृष्णको परिवार एकसाथ खुसी छ।

‘मेरो परिवारसँगै अनि खुसी छौं है’ भन्ने सन्देश पनि सामाजिक सञ्जालबाट रामकृष्ण बेलाबेला दिइरहकै हुन्छन्।

यसैक्रममा उनले प्रेम दिवस पारेर आफ्ना शुभचिन्तकमाझ नयाँ उपहार लिएर आएका छन्।

रामकृष्णले आफ्नी पत्नी निलमसँग अभिनय गरेको भिडियो सार्वजनिक गरेका छन्। गीतको भिडियोमा ढकाल दम्पत्तिको प्रेम फस्टाइरहेको छ, फूलिरहेको छ।

मनिष वशिष्ठको रचनामा तयार ‘तिम्रो बारे’ बोलको गीत र गम्भिर विष्टको निर्देशनमा तयार भिडियोमा रामकृष्ण र निलमको प्रेमभाव प्रष्ट देखाउने प्रयास गरिएको छ।

सुरेन्द्रमान सिंहको संगीत तथा रिकेश गुरुङको सङ्गीत संयोजनमा तयार गीतमा रामकृष्ण स्वयंले स्वर दिएका छन्।

गीत सार्वजनिक गर्दै रामकृष्णले आफ्ना शुभचिन्तकमाझ प्रेम दिवसको शुभकामना सन्देश दिएका छन्। ‘मेरो परिवार, साथीहरू अनि मलाई माया गर्नुहुने शुभचिन्तकहरूमा ‘भ्यालेन्टाइ डे’को शुभकामना,’ उनले लेखेका छन्।

डिभोर्सको हल्लाले कतै आफ्ना शुभचिन्तक भड्किए कि भन्ने भावमा गीतमा समावेश केही वाक्यांश जोड्दै  ढकाल थप्छन्-

पहिले फूललाई हेरेँ, अनि तिमीलाईं देखेँ,

पन्छाई फूललाई धेरै पर, तिम्रो बारे कविता लेखेँ।

‘प्रणय दिवसका अवसरमा सुन्दर गीत उपहार दिँदैछु, यो गीतसँगै आनन्द लिएर मलाई पनि मायाकै मनमा सम्हाल्नुस् हैं।’