सर्वोच्चले माग्याे माधवकुमार र बाबुरामविरुद्ध भ्रष्टाचार मुद्दा नलगाउनुको कारण

काठमाडाैं : सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास क्याम्प क्षेत्रको जग्गा विक्रीमा जोडिएका तत्कालीन प्रधानमन्त्रीहरु माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्ध भ्रष्टाचार मुद्दा नलगाउनको कारणबारे जवाफ मागेको छ।

सर्वोच्चले दुवै पूर्व प्रधानमन्त्रीको पालामा मन्त्रिपरिषद्‍बाट निर्णय गराएर बेचिएको भनिएको बालुवाटारको जग्गा प्रकरणमा अन्यलाई मुद्दा चलाएको अवस्थामा उनीहरुविरुद्ध मुद्दा नचलाउनुको कारण माग गरेको हो। सर्वोच्चले यो मुद्दालाई अग्राधिकार दिँदै यस्तो आदेश गरेको हो।

सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले दुवैविरुद्ध मुद्दा नलगाउनुको कारणसहितको जवाफ दिन अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको हो। सर्वोच्चले अख्तियार, नेपाल र भट्टराईलाई १५ दिनमा जवाफ दिन भनेको छ।

अख्तियारले बालुवाटार जग्गा प्रकरणमा तत्कालनी मन्त्रीहरु विजयकुमार गच्छदार र चन्द्रदेव जोशीसहितविरुद्ध मुद्दा लगाएको थियो। तर नीतिगत निर्णयकर्ता भन्दै तत्कालीन प्रधानमन्त्री नेपाल र डा.भट्टराईलाई भन्दै मुद्दा चलाएको थिएन। अख्तियारको यस निर्णयविरुद्ध वरिष्ठ अधिवक्ता बालकृष्ण न्याैपानेले सर्वोच्चमा रिट हालेका थिए।