फागुन दोस्रो सातादेखि राष्ट्रिय औद्योगिक सर्वेक्षण हुने

चितवन । चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व र पश्चिम) मा आगामी फागुन दोस्रो सातादेखि एक साथ राष्ट्रिय औद्योगिक सर्वेक्षण हुने भएको छ ।
जिल्लास्तरीय राष्ट्रिय औद्योगिक सर्वेक्षणका लागि तथ्यांक अधिकृतहरुलाई तालीम दिइसकिएको उल्लेख गर्दै प्रमुख तथ्याङ्क अधिकृत यज्ञमूर्ति भण्डारीले फागुन ५ गते गणकहरुलाई समेत तालीम दिइने बताए । चितवनको भरतपुरमा आयोजित सचेतना गोष्ठीमा तीन वटै जिल्लामा औद्योगिक सर्वेक्षणका लागि आठ जना गणक परिचालन गरिने भण्डारीको भनाइ छ ।
साढे दुई महिनासम्म हुने सर्वेक्षणमा खानी तथा उत्खनन्, औद्योगिक उत्पादन, विद्युत्, ग्यास, वाफ तथा वातानुकूलित सेवा, पानीको आपूर्ति, ढलनिकास, फोहोर व्यवस्थापन र त्यसको उपचारात्मक क्रियाकलापहरुलाई गणना गरिने भण्डारीले जानकारी दिए । सो सर्वेक्षणमा रुग्ण उद्योग, दर्ता मात्रै भएका उद्योग र चालु अवस्थामा रहेका उद्योगहरु सबैको गणना गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले बताए ।
जिल्लाभित्र रहेका उद्योग वाणिज्य संघ र घरेलु उद्योग कार्यालयका प्रतिनिधि राखेर तथ्यांक लिँदा प्रभावकारी हुने डल्लाकोटीले बताए । कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले यो सर्वेक्षणले औद्योगिक क्षेत्रहरुको अवस्था जानकारी लिनका सहयोग पुग्ने भन्दै यथार्थ तथ्यांक दिनुपर्नेमा जोड दिए ।
तथ्यांक के का लागि लिन लागिएको हो भन्ने विषयमा सम्पूर्ण उद्योगी व्यवसायीलाई बुझाउन सकेको खण्डमा औद्योगिक गणनाको यथार्थ तथ्यांक निकाल्न सजिलो हुने भट्टराईले बताए । कार्यक्रममा चितवनका उद्योगी तथा व्यवसायीले औद्योगिक गणनामा आफूहरुको पूर्ण सहयोग हुने बताएका छन् ।

.