रंगशालाका लागि आवश्यक पर्ने सर्जिकलजन्य सामग्री हस्तान्तरण

चितवन । चितवनको भरतपुर महानगरपालिका वडा नम्बर १५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका लागि आवश्यक पर्ने सर्जिकल सामग्री सहयोग प्रदान भएको छ । केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसिएन अफ नेपाल चितवनले रंगशालामा प्राथमिक उपचारका लागि आवश्यक पर्ने सर्जिकलजन्य सामग्रीहरु प्रदान गरेको हो ।
ह्वीच चेयर, बेड, अटो क्लेप स्टेचर, ब्लड प्रेसर सेटलगायतका करिब एक लाख ५० हजार रुपैयाँ पर्ने ४९ प्रकारका सर्जिकलजन्य सामग्री प्रदान गरिएको केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसिएन अफ नेपाल चितवनका अध्यक्ष अर्जुन रानाभाटले बताए । क्रिकेट रंगशाला निर्माणको काम भइरहेको अवस्थामा कुनै पनि घटना हुनसक्ने भन्दै प्राथमिक उपचारका लागि आवश्यक पर्ने सामग्री प्रदान गरिएको रानाभाटको भनाइ छ ।
गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा आफूहरुको समेत साथ र सहयोग छ भनेर ऐक्यवद्धता जनाउनका लागि सर्जिकल सामग्रीहरु प्रदान गरिएको रानाभाटको भनाइ छ । आगामी दिनहरुमा समेत सर्जिकलजन्य सामग्रीहरु सहयोग गर्ने उल्लेख गर्दै धुर्मुस सुन्तली फाउण्डेशनसँग सहकार्य गर्दै अगाडि बढ्ने रानाभाटले बताए ।
सहयोग हस्तान्तरण कार्यक्रममा केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसिएन अफ नेपाल चितवनका कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।