ए डिभिजन लिग : आर्मी र मच्छिन्द्र अन्तिम खेलका लागि तयार

काठमाडौं : विराज महर्जन र भरत खवास एन्फा एकेडेमीका एउटै ब्याचका खेलाडी हुन् । राष्ट्रिय टिममा पनि एक दशक सँगै खेले । यिनै दुई खेलाडी सहिद स्मारक ए डिभिजन लिगको उपाधिका लागि शनिबार एकअर्काविरुद्ध भिड्दैछन् ।

विराज महर्जनको कप्तानीमा रहेको मच्छिन्द्र क्लब र भरत खवासको कप्तानीमा रहेको त्रिभुवन आर्मी क्लब लिगको अन्तिम खेलमा खेल्दैछन् । यही खेलबाट उपाधि विजेता टुंगो लाग्नेछ । लिगको अन्तिम खेल शनिबार दिउँसो साढे १ बजे दशरथ रंगशालामा हुनेछ ।

शुक्रबार एन्फाले आयोजना गरेको प्रि-म्याच कन्फ्रेन्समा दुवै टिमका कप्तान र प्रशिक्षकले अन्तिम खेलको लागि तयार भएको र उपाधि जित्न खेल्ने बताए ।