कहिल्यै नभरिने चीज रहेछ ‘प्रेम’

कृष्ण धरावासी काठमाडौं : मैले उहिले राधा उपन्यासमा कतै लेखेको थिएँ, एउटा संवाद जुन कृष्ण पात्रले बोलेको थियो–“राधा ! आफूलाई सम्पूर्ण रूपमा नबिर्सिकन अर्कालाई प्रेम गर्न कहाँ सकिन्छ? प्रेम भन्नु नै आफूले आफैँलाई बिर्सी आफूलाई अरुमा पाउनु हो। मैले आफूलाई सम्पूर्ण रूपमा तिमीमा पाउनु र तिमीले आफूलाई ममा पाउनु प्रेमको पूर्णता हो।

शारीरिक प्रेम र आत्मिक प्रेमको अन्तर बुझ राधा। शारीरिक प्रेम यौनको वरिपरि हुन्छ, त्यसले शरीरको भोग गर्छ र, सन्तान जन्माउँछ। आत्मिक प्रेम शरीरतत्त्वभन्दा माथि छ, त्यसले आनन्द मात्र भोग गर्छ र प्रेमको तत्त्वबोध गर्छ। जबसम्म शरीरतत्त्वको अधीनमा हाम्रो मन रहन्छ, हाम्रो प्रेम पनि सांसारिक मात्र हुन्छ। उमेर र यौवनभरिको मात्र। यौनपूरक अङ्गहरूका साथ विस्तारै विकसित हँुदै आउने भावना सांसारिक प्रेम हो, त्यो यौनपूरक अङ्गहरूको शिथिलतासँगै मरेर जान्छ। तिमी शारीरिक प्रेमभन्दा माथि उठ राधा, त्यसले तिमीलाई यथार्थ प्रेमको अनुभूति गराउनेछ।’

यी कुरा लेखिरहँदा म जुन भाव चेतनामा थिएँ आज पनि त्यहीँ छु। प्रेमको रूप सदा उही हुन्छ, पात्र मात्र फेरिने गर्दछन्। हामी सधै सुनिरहन्छौँ, युवायुवतीहरूका बारेमा पहिलाका जस्तै र उस्तै उस्तै सन्दर्भ र घटनाहरू। प्रेमका सन्दर्भमा कुनै प्रकारका सिद्धान्त जागतिक हुँदैनन्। यो हरेक युगमा र हरेक पुस्तामा उसैगरी सक्रिय हुन्छ। यसको सनातन सन्दर्भलाई कस्तै आदर्शले पनि बाँध लगाउन सक्दैन।

प्रेम जुन कारणले प्रेमिल छ , त्यही कारणले त्यो विद्रोही पनि छ। प्रेमले गरेका विद्रोहहरू इतिहासमा युद्धले ल्याएका परिणामभन्दा पनि गाढा छन्। हाम्रा इतिहास र पुराणका अधिकांश पानाहरू प्रेम र विद्रोहका मसीले लेखिएका छन्। झलक्क हेर्दा ती अनेक कारणहरूको व्याख्या बाहिरी गातामै बोकेर उभिएका हुन्छन्, अलिक गहिरिएर हेरिए तिनमा अनेकौँ धिरोदत्त नायकहरूका भावनात्मक कमजोरीहरू लिपिबद्ध भएका पढिने गर्दछन्।

सतीदेवी र शिवजीको प्रेमविवाह, कामदेवको बध, मुमताज र शाहजहाँको प्रेमको प्रतीक ताजमहल, गगनसिंहको हत्या, दरबार हत्याकाण्डको औपचारिक कारण यी अनेक उदाहरण प्रेमको कमजोरी वा शक्तिको मिमांसाका लागि मात्र हैनन्। यसलाई के हो वा के होइन भन्ने बहसमा लैजानुअघि हामी प्रत्येकले आफूलाई आफैँद्वारा भित्र फर्किएको वा पर्खिरहेको मनसँग अन्तर्वार्ता लिए सहज हुनेछ। हरेक उमेरका हरेक लिंगका, हरेक आदर्श र उचाइका मानिसहरू आफैंभित्रको प्रेमरसका कारण शासित र दमित छन्। प्रेमलाई सिद्धान्तले बाँध्न खोज्नेहरू आत्मदमनको सिकार भएका हुन्छन् र, तिनीहरू कुनै अवस्थामा बलात्कारका पात्र बन्न पुगिरहेका हुन्छन्, जसका केही उदाहरण हाम्रा जेलभित्र पुर्पक्ष गरिरहेका छन्।

हामीले एउटै डोरीमा झुन्डिएर मरिरहेका युगलहरूको मलामी जानु परेको छैन कि, पति वा पत्नीद्वारा मारिएका लाशहरूको सनाखत गर्नु परेको छैन कि, छोराछोरीलाई आफ्नै जीउमा बाँधेर नदीमा हाम फालेका आमाबाबुका लाशहरू नदीबाट पाखा झिक्नुपरेको छैन कि!

हरेकको शरीरमा प्रकृतिले उमेरको वृद्धिसँगसँगै थप्दै जाने यौनरसहरूको अस्तित्वलाई कुनै कालको कुनै यौनदमित पुरुषले लेखेको किताब, आदर्श मानेर अस्वीकार गर्ने बौद्धिक हठ समाजमा अपराधको सूत्र बनेर रहेको हुन्छ।


प्रेममा जब अर्थ र आदर्श पर्खाल भएर उभिन्छ, मानिस त्यही विन्दुबाट नकारात्मक खाडलमा खस्न थाल्छ।

 

प्रेमको उत्पत्ति आफ्नो शरीरबाट हुन्छ। आफ्नै शरीरमा उत्पन्न हुने रसले छिनछिन्मा दिने तरंग र इन्द्रेणी अनुभूतिहरू नै प्रेम हो, जुन आफैँभित्र छ र, त्यो बाहिर अरू कसैको माध्यमबाट देखिन चाहन्छ । त्यो माध्यम भन्नु आफूभन्दा विपरीत यौनरसवाहक साथी हुनेछ। त्यसका लागि विपरीत लिंगीय नै हुनुपर्दैन। उसभित्र बहने यौनरसले नै आकर्षणको स्वतः छनोट गर्दछ।

कसैले कसैलाई म तिमीबिना बाँच्न सक्दिनँ भन्छ भने त्यसकालमा उसभित्र पग्रिरहेको यौनरसको उत्ताप मात्र हो, जुन केही कालपछि नै वितृष्णा र विद्रोहमा परिणत भइसकेको हुनेछ। यो कुरो सधैँ उच्च चर्चामा छ र, निकासविहीन संवाद शून्यतामा पुगेर मौन बन्दछ।

यसमाथि जति किताब लेखिए, जति गीत गाइए, जति नाच नाचिए, जति चित्र बनिए, जति लुगा सिलाइए त्यति मानव सभ्यतामा अरू कुनै विषयमा गरिएन। सारा रहर र रमिताको असमापक स्रोत यही हो, जहाँबाट प्रवाहित रस अमृतमय छ। यसलाई लिंग छुट्याएर, आदर्शले अथ्र्याएर, श्रीपेच लगाएर वा कौपिन धारण गरेर अवमानना गर्न कसैले पनि सक्दैन। स्पष्ट के हो भने प्रेम कुनै छुट्टै अनुकरणीय, धारणीय, तालिमद्वारा पारंगतीय विषय होइन। यो बुद्धिभन्दा पहिले मानव मनमा जाग्रित हुने तात्विक अनुभूति हो।

यसलाई स्वीकार्य वा अस्वीकार्यताको कुनै अर्थै छैन। अक्सिजनलाई लिन्छु वा लिन्नको बहस गरिरहँदा पनि त्यसैको पौन फेरिरहेको हुनु परेजस्तै प्रेम पनि हामीसँग आफैंभित्र एक्लाएक्लै जाग्रित हुने अनुभूति हो, जसलाई पोख्न अर्को समान अनुबोधकको आवश्यकता पर्दछ।

सबैभन्दा राम्रो कुरा के हो भने यसलाई प्रतिष्ठा वा अहम्को विषय नै बनाइनु हुँदेन। बाबुआमाले छोराछोरीको छनोटलाई आफ्नो आदर्शको आधार मान्नु हुँदैन। मानिसको शरीरभित्र जसरी थुक, खकार, दिसापिसाब उत्पन्न हुन्छ र, त्यसले बाहिर निस्कन बाटो माग्छ, त्यसै गरी शरीरभित्रै उत्पन्न हुने यौनरसले खोजिरहेको निकासको माध्यम हो प्रेम। यसले दिने भावुकता, अनुभवजन्य असावधानी, सामाजिकताको विपक्षमा उभिएको अन्धता यी सबै कुरा वर्तमानले बुझ्नुपर्ने हो। जुन गल्ती आमाहरू, बाबुहरू लुकेर गरिरहेछन्, उनीहरूको त्यो गल्ती छोराछोरीहरूका लागि अधिकार हो जुन उनीहरू उपभोग गर्न चाहन्छन्।

सन्तानको छनोट र खुसीविरूद्ध उत्रिएको दक्ष प्रजापतिले बोकाको टाउको लगाउनुपरेको कथा एक–एक महिनासम्म घर–घरमा पढ्छन्, सुन्छन् हाम्रा आमाबाबु र छरछिमेकीहरू। तर, त्यसबाट उनीहरू यो शिक्षा कहिल्यै लिँदैनन् कि प्रेम गर्नु वा आफ्नो जीवनसाथी आफैँले रोज्न पाउनु हरेक युवाको अधिकार हो।

प्रेम शब्द आफंैमा सकारात्मक छ। यसले मानिसलाई खुसी र ऊर्जा दिन्छ। उसमा नित्य नवीन हुने प्रेरणा प्रदान गर्छ। यो उत्पन्न हुँदै सकारात्मक ऊर्जा लिएर आएको हुन्छ, तर जब यसले त्यही ऊर्जाको गतिले सार्वजनिक हुन पाउँदैन अनि विस्तारै कुण्ठित हुँदै जान थाल्छ र, जुन हदसम्मको सकारात्मक थियो, त्यही हदसम्मको नकारात्मकतामा प्रवेश गर्न पुग्छ। यही प्रेम नकारात्मक भएका दिन विनासको सबैभन्दा डरलाग्दो कारण बन्दछ, जस्तो हिटलर बन्यो। उसले जुनबेला आफ्नो प्रेमभावलाई कलामा पोख्न पाएन, जसलाई उसले सबैभन्दा पहिला प्रस्ताव गर्‍यो र, अपमानित भयो, कुनै दिन जव सत्तामा पुग्यो, त्यो महाविनाशको कारण बन्यो। भन्नलाई अनेकौं अन्तर्राष्ट्रिय कारण र आधारहरू सतहमा छन्। तर, भित्र दबेर रहेको छ कचल्टिएको प्रेमको विषदह।

प्रेम विस्तारै यान्त्रिक र आर्थिक आधारमा उभिन पनि थालेको छ। आजको साइबर दुनियाँले प्रेमलाई फरक परिभाषा गरिरहेको छ। अब मानिस नलदमयन्तीको वा नीलहीराको कथा, राधाकृष्णको सम्बन्ध, महेन्द्र र रत्नको प्रेमजस्ता शास्त्रीयतामा अल्झेर आदर्शको गीत बजिरहन सक्ला? आज युटबहरूमा आइरहेका स्त्रीपुरुषका झगडाहरू र अव्यावहारिक पारिवारिक विघटनका पछि लिंगीय विभेद मात्र छैन, विवाहमा पुगेर टुंगिएको प्रेमको भावुकताको पुनः उत्थान पनि हो।

प्रेमको मेरो आफ्नै अनुभव पनि छ। मैले केही पुस्तकमा ती कुराहरू लेखेको पनि छु। मेरो युवाकालको प्रेमको असफलतालाई मैले आफ्नो गृहस्थीमा खोजिरहेँ, बनाइरहेँ। त्यसमा म सन्तुष्ट थिएँ पनि र, आज पनि छु। गृहस्थी पनि प्रेमको परम सुखद् उचाइमा पुग्न सक्दोरहेछ, यदि त्यसमा विकल्पहरू जो पस्न खोज्छन्, तिनलाई पस्नबाट रोक्न सकियो भने। धेरैतिरका असन्तुष्टि र आकर्षणहरू आफूतिर वेगले आइरहेका हुन्छन्, तिनबाट तर्किने कलाको विकास गर्न सकिएन भने गृहस्थी त भत्किन्छ भत्किन्छ, आफ्नो भविष्य पनि अरण्यमा हराउन पुग्छ।

प्रेममा जब अर्थ र आदर्श पर्खाल भएर उभिन्छ, मानिस त्यही विन्दुबाट नकारात्मक खाडलमा खस्न थाल्छ। ती कुराबाट सम्बन्धित पात्रले आफैं एक्लैले मात्र जोगिन खोजेर सम्भव छैन। त्यसका लागि समाज र परिवारमै त्यसखालको चेतना र उदारता आवश्यक छ। सामान्यतया हामीले सधैँ सुनिरहनुपर्ने कुरा नै दुई विपरीत लिंगीय पात्रहरूका गोप्य सम्बन्धहरूको उदांगता हो। हामीले अत्यधिक समय यसैगरी अरुलाई नङ्ग्याउनमा खर्च गरिरहेका हुन्छौं। उनीहरूलाई लुक्न र भाग्न नै व्यस्त राखेर आफू पनि अनुसन्धान विभागको अधिकृतझैँ व्यस्त रहन्छौँ। अर्काको निजी जिन्दगीमा प्रवेश गरिरहँदा अरूलाई पनि आफ्नो जिन्दगीमा पस्नका लागि ढोका खुल्लै छाडेर हिँडिरहेको थाहा पाउँदैनौँ।

भर्खरै कान्तिपुर दैनिकका प्रधान सम्पादक सुधीर शर्मासँगको अन्तर्वार्तामा नेकपाका अध्यक्ष, पूर्वक्रान्तिकारी नेता प्रचण्डले भन्नु भयो– उहाँको हरेक बिहानको प्रारम्भ पुराना नेपाली आधुनिक र लोकगीत सुनेर सुरु हुन्छ। स्पष्ट छ–ती भनेका पक्कै पनि क्रान्तिकारी गीत हुँदैनन्। ती प्रेम संयोगका वा प्रेम वियोगका हुन्छन्। लोकगीत त प्रेमी–प्रेमिकाकै संवाद नै हुन्। त्यसो भए हामीले उहाँको क्रान्तिकारी योद्धा व्यक्तित्वमाथि बनाएको धारणा सही रहेछ त? हामी सोच्थ्यौँ होला–प्रचण्ड त जुनसुकै बेला पनि क्रान्तिकै कुरा गर्छन् होला, तर, त्यो होइन भनेर उहाँले भन्नुभयो। जब उहाँलाई पारिवारिक विषयमा प्रश्न गरियो, किञ्चित भावुक देखिनु भो।

राधा उपन्यास लेख्दै गर्दा प्रेमका भावनात्मक छालहरू यसरी आउँथे, तिनलाई उपन्यासमा राख्नु सम्भव थिएन। अनि तिनलाई बेग्लै पातामा लेख्दै गएँ।

त्यहाँ सन्तान गुमाएको र तिनीहरूसँगको वियोगको पीडा थियो। पत्नीको असाध्य रोगसँग लडिरहेको अवस्थाको छायाँ थियो आँखामा। यहाँ प्रेम यौनरसबाट निस्केर पत्नी र सन्तानको मायामा परिणत भएको देखिन्छ। तर, त्यसलाई सतहमा गएर हेरियो भने फेरि पनि यौनरसमै फेरो मारिरहेको हुन्छ, जहाँ पत्नी यौनसाथीकी बिम्ब हुन्छिन् र, सन्तान त्यसैको परिणाम।

मानिस जुनसुकै कारणले एकल होस्् वा विवाहित, ऊ बाँचेको हुन्छ आफैंभित्रको ऊर्जाले। जुन उर्जा निष्कासन भएको हुन्छ ऊभित्र जलिरहेको अनेकौँ हर्मोनहरूको अगेठबाट। प्रेमको अर्थ र परिभाषाका लागि यति धेरै भ्रम पनि पालिरहनु जरुरी छैन, जसलाई हामी भगवानजस्तो असाध्य तर्क र विश्वासमा बाँधेर कँज्याइरहेका हुन्छौँ। यो हाम्रो शरीरसँग उत्पादन भएर शरीरसँगै समापन हुने एक भावनात्मक शक्ति हो, जसले हामीलाई अन्तिमसम्म पनि बाँच्न प्रेरित गरिरहेको हुन्छ। हाम्रा सारा महत्वाकांक्षाको आधारस्तम्भ बनेको हुन्छ। हाम्रा आँखामा हरेक क्षण बग्न तम्तयार आँसुको स्रोत बन्छ।

प्रेम जीवनको त्यो शक्ति हो, जसले मानवसभ्यतालाई उत्तरोत्तर ठेलिरहेको छ। त्यो व्यापारी, त्यो वैज्ञानिक, त्यो राजनीतिज्ञ, त्यो कलाकार, त्यो कवि, त्यो गृहस्थी सबैलाई त्यही ऊर्जाले चलाइरहेको छ। र, यो स्वचालित ऊर्जा निरन्तर उर्धोगामी छ। यसलाई चिन्न सके, चलाउन सके, उपयोग गर्नसके अरु कुनै प्रकारका विकल्प पर्दामा रगरगाउने छैनन्।

राधा उपन्यास लेख्दै गर्दा प्रेमका भावनात्मक छालहरू यसरी आउँथे, तिनलाई उपन्यासमा राख्नु सम्भव थिएन। अनि तिनलाई बेग्लै पातामा लेख्दै गएँ। पछि ती सबै भेला गर्दा एउटा किताबै भयो, जसलाई कान्छी राधा भनी छापियो। त्यसमध्ये एउटा कविता यस्तो रहेछ, जहाँ प्रेमको अपूर्णता पोखिएछ।

एकदिन कविता जस्तै भएर भन्यौं-
‘भरिएन-कहिल्यै भरिएन।’
मैले सोधिनँ, तर के भरिएन?
बुझेजस्तो लाग्यो नभरिएको त्यो
त्यो खाली र, रित्तो ।

जति पाएर पनि नपाएझैँ
जति भएर पनि अपुरोझैँ
जति नजिकमा पुग्दा पनि दूरीमै झैँ
कति अप्राप्य छ हैन राधा!

सदा हृदयको ढोका खोली राखेर
पर्खिएरै बसिरहँदा पनि
उठाएर, ल्याएर त्यहाँभित्रै राख्दा पनि
जीवनभरि सधैँ सँगै भइरहँदा पनि
तर, खाली नै छ त्यहाँ
रित्तै छ त्यो कहिलेदेखि।

मैले तिमीलाई सोधिनँ-‘के भरिएन?’
तर, मलाई थाहा छ त्यो किन भरिँदैन
सपनामा, कल्पनामा, वियोगमा
खुसीमा, दुःखमा र मिलनमा
थोपाथोपा भएर भित्रभित्रै
तप्पतप्प चुहिरहने त्यो आँसु भएर
बगिरहन्छ जब भित्रभित्रै
कसरी भरिन्छ रात्रा ? कसरी भरिन्छ !