कार्यप्रगति सुनाउन आज संसद्‌मा प्रधानमन्त्रीको सम्बोधन

काठमाडौं : दुई वर्षमा सरकारले गरेका कार्यहरूको जानकारी दिन आज प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा सम्बोधन गर्ने भएका छन्।

दुई बजे सुरु हुने प्रतिनिधिसभा बैठकमा ओलीले सम्बोधन गर्ने छन्। बैठकको सुरुमै ओलीले सम्बोधन गर्ने कार्यतालिका तय गरिएको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक रामशरण बजगाईंका अनुसार सरकारले दुई वर्षमा गरेका कामहरूबारे ओलीले संसद्मार्फत् जानकारी दिनुका साथै समसामयिक विषयवस्तुबारे पनि जानकारी दिनेछन्।

‘आज (शुक्रबार) प्रधानमन्त्रीज्यूले दुई वर्षमा भएका कामहरूको बारेमा जानकारी दिनुहुनेछ, भोलि पत्रकार सम्मेलनमार्फत् तथ्याङ्कसहित कार्यप्रगति विवरण उपलब्ध गराइनेछ,’ बजगाईंले भने।

२०७४ साल मङ्सिरमा भएको आमनिर्वाचनको करिब तीन महिनापछि प्रधानमन्त्री केपी शर्मा ओलीले २०७४ साल फागुन ३ गते सत्ता सम्हालेका थिए।