डढेलोले २५ सय घर जल्यो, ५४ लाख हेक्टर वन सखाप

सिड्नी : अस्ट्रेलियामा गएको सेप्टेम्बरदेखि फैलिएको डढेलो पूर्णरुपमा नियन्त्रणमा आएको छ । डढेलोका कारण सबैभन्दा बढी प्रभावित भएको न्यू साउथ वेल्सका अग्नि नियन्त्रण अधिकारीहरुले डढेलो पूर्णरुपमा नियन्त्रणमा आएको जानकारी दिएका हुन् ।

नियन्त्रणकाे बाजजुत राज्यका ३० भन्दा बढी क्षेत्रमा डढेलो फैलिएकाे थियाे । तर भारी वर्षासँगै सम्पूर्ण क्षेत्रको डडेलो नियन्त्रणमा आएको राज्यको ग्रामीण अग्नि नियन्त्रण सेवाले जनाएको छ । पछिल्ला केहिदिन यता न्यू साउथ वेल्समा भारी वर्षा भइरहेको बीबीसीले जनाएकाे छ ।

वर्षासँगै त्यस क्षेत्रमा बाढी तथा क्वीन्सल्याण्डको दक्षिणी क्षेत्रमा आँधी आउन सक्ने संभावना बढेकाे छ । न्यू साउथ वेल्समा पाँच महिनाभन्दा बढी समय फैलिएको डढेलोका कारण ५४ लाख हेक्टर वन डढेको छ । करिब २५ सय घर क्षतिग्रस्त भएका छन् ।