पार्टीलाई सुदृढ बनाउन सत्तारुढ नेकपाले तीन महिने अभियान चलाउने

चितवन । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टीलाई सुदृढ बनाउनका लागि चैतबाट तीन महिने अभियान सञ्चालन गर्ने भएको छ ।
कम्युनिष्ट पार्टीहरु आफ्नै कारणले पतन हुने गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले पार्टीलाई बलियो बनाउनका लागि तीन महिने अभियान सञ्चालन गर्ने बताएका हुन् । जनआन्दोलन तथा जनयुद्धका शहीदहरुको स्मृतिमा चितवनको भरतपुरमा आयोजित श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले कम्युनिष्ट सत्तामा गएपछि पार्टी पतन हुने रोग नेपाललाई नलागोस् भन्नका लागि समीक्षा गर्नु आजको आवश्यकता भएको दाहालले बताए । चैत महिनाभित्र सात वटै प्रदेशको भेला सकाएर चैतबाट तीन महिने अभियान सुरु गरिने समेत दाहालको भनाइ छ ।
कार्यक्रममा सत्तारुढ नेकपाका नेताहरुले शहीदहरुको सपना साकार पार्न सकेको खण्डमा मात्र गणतन्त्र प्राप्तीको उपलब्धी हुने बताएका थिए । समृद्ध नेपाल निर्माणका लागि कृषि, पर्यटन तथा शिक्षाबाट आर्थिक समृद्धि हासिल गर्नुपर्ने नेताहरुको भनाइ थियो ।