सूचनाको क्षेत्रमा क्रान्ति नै भएको छ : खनाल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले नेपालले सूचनाको क्षेत्रमा ठूलो क्रान्ति सम्पन्न गरेको बताउनुभएको छ । आफू सञ्चारमन्त्री भएको बेला रेडियोको टावरले हेलिकप्टर खस्छ भन्दै भ्रम फैलाएर रोकिएको स्मरण गर्नुहुँदै खनालले हरेक प्रजातान्त्रिक आन्दोलनमा सामुदायिक रेडियोले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको धारणा राख्नुभयो ।

रेडियो दिवसको अवसरमा आयोजित एक कार्यक्रममा खनालले प्रेस सवतन्त्रताको सुनिश्चितताको लागि आफू सधै प्रतिवद्ध रहेकोसमेत स्पष्ट पार्नुभयो ।

सामुदायिक रेडियोको छाता संगठन सामुदायिक रेडियो प्रशारक संघ (अकोर्याब) द्वारा आयोजित कार्यक्रममा पूर्व प्रधानमन्त्री खनालसहित विभिन्न राजनीतिक दलका नेता, मानव अधिकारकर्मीका तथा सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो ।

संयुक्त राष्ट्रसंघ अनतर्गतका विश्वव्यापी संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउन थालेदेखि विश्वभर रेडियो दिवस मनाउने गरिन्छ ।

रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरु बीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोलाई सूचनाको पहुँचमा बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिन्छ ।

विश्वमा व्यावसायिक रेडियो प्रसारण शुरु भएको ९९ वर्ष पूरा भएको छ भने नेपालमा पनि रेडियो प्रसारण शुरु भएको ६८ वर्ष पुगेको छ । नेपालमा औपचारिक रुपमा भने विसं. २००७ मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालनमा आएको थियो ।

हाल नेपालमा इजाजत प्राप्त एफएम रेडियोको संख्या ९ सय ६२ पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।