१२ वर्षपछि श्रीमानकै अगाडि बलात्कार गर्ने पक्राउ

काठमाडौं : पतिकै अगाडि पत्नीलाई बलात्कार गरेर फरार एक अभियुक्त बुधबार पक्राउ परेका छन् । घटनामा संलग्न हनुमाननगर कंकालिनी नगरपालिका– ११ इनरुवाका ५० वर्षीय हरिनारायण यादव १२ वषएपछि पक्राउ परेको डीएसपी तिलक भारतीले बताए ।

उनका अनुसार सोही ठाउँका दुधियावाला भनिने खटर यादवको खोजी भइरहेको छ । पीडितले ढिलै भए पनि न्याय पाउने सम्भावना बढेको बताएका छन् । ‘बगेको खोला १२ वर्षमा फर्कन्छ भन्थे, हो रहेछ, १२ वर्षपछि अभियुक्त पक्राउ परे’, पीडित दम्पतीले भने ।

सुनसरीको इनरुवामा मजदुरी गरेर दसैं मनाउन २०६४ असोज २९ गते राति हनुमाननगर हुँदै घर फर्किरहेका बेला यादवद्वयले दम्पतीमाथि आक्रमण गरेका थिए ।

दुवैजनाले पतिलाई नियन्त्रणमा लिएर पत्नीलाई बलात्कार गरेका थिए भने साथमा रहेको १० हजार रुपैयाँ लुटेका थिए । पीडितले २०६४ असोज ३० मा जिल्ला प्रहरी कार्यालयमा उजुरी दिए । सगरमाथा अञ्चल अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गरियो ।

बलात्कार पुष्टि भएपछि दम्पतीले सप्तरी जिल्ला अदालतमा बकपत्र गरे । सप्तरी जिल्ला अदालतले हरिनारायणलाई जबरजस्ती करणी र चोरी मुद्दामा ०६५ चैत ११ गते एक वर्ष ६ महिना कैद सुनायो ।

उनी आफू घटना भएका बेला भारत पञ्जाबमा मजदुरी गरिरहेकाले घटनामा संलग्न नभएको दाबी गर्दै ०६७ असार १७ गते अदालतमा हाजिर भए ।

खटरको समेत बयानपछि अदालतले २०६७ फागुन १२ गते दुवैजनालाई सफाइ दियो । हरिनारायणलाई कम सजाय र खटरलाई सफाइ दिने जिल्ला अदालतको फैसला त्रुटिपूर्ण भएको भन्दै पीडितले तत्कालीन पुनरावेदन अदालत राजविराजमा निवेदन दिए ।

अदालतले ०७१ मंसिर २९ गते हरिनारायणलाई पाँच वर्ष कैद र पाँच हजार क्षतिपूर्ति भराउने तथा खटरलाई एक वर्ष ६ महिना कैद सजाय गर्ने फैसला सुनायो ।

उक्त फैसलाविरुद्ध ०७३ चैत २५ गते दुवै जनाले सर्वोच्च अदालतमा पुनरावेदन गर्दै सफाइको माग गरे ।

गत जेठ १ गते सर्वोच्चका तत्कालीन कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश डम्बरबहादुर शाहीको संयुक्त इजलासले पीडितका पक्षमा निर्णय सुनाएपछि अभियुक्त फरार भएको समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा मनोहर पोखरेलले लेखेका छन् ।