चितवन ट्राफिक प्रहरीलाई नारायणी मोटर्सको अगुवाईमा आवश्यक सामाग्री सहयोग

 

चितवन : सवारी दुर्घटना न्यूनीकरणका लागि जिल्लाका व्यवसायीहरुले जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनलाई आवश्यक पर्ने सामाग्री सहयोग गरेका छन् । आज भरतपुरमा एक कार्यक्रमको आयोजना गरि व्यवसायीले दुर्घटना न्यूनीकरणका लागि आवश्वयक पर्ने मोटरसाईकल २, गोप्रो क्यामेरा, ल्यापटप र प्रोजेक्टर जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख दयाकृष्ण भट्टलाई हस्तान्तरण गरेका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवन र दुर्घटना न्यूनीकरण महाअभियान कार्यसमिति चितवनको आयोजनामा भएको कार्यक्रममा नारायणी मोटर्सले १ सय २५ सिसिको दुई थान मोटरसाईकल, चितवन अटोमोबाईल डिलर्स एसोसियसनले ल्यापटप र प्रोजेक्टर, चितवन निर्माण सेवा संघले दुई थान गोप्रो क्यामरा सहयोग गरेको ट्राफिक प्रहरी कार्यालयका प्रहरी नायव निरिक्षक कृष्णज्यू ठकुरीले जानकारी दिनुभयो ।कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्राईले यस्ता सामाग्रीले सवारी दुर्घटना न्यूनिकरणमा सहज पुर्याउने बताउनुभयो । सवारी दुर्घटना बढिरहेको समयमा प्रविधिहरु प्रयोग गरेर न्यूनिकरण गर्नका लागि गोप्रो क्यामेराले सहयोग पुग्ने उहाँले विश्वास लिनुभयो ।

सवारी दुर्घटना न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालयले ट्राफिक प्रहरी कार्यालय मार्फत जनचेतना मुलक कार्यक्रमहरु गरिरहेको बताउनुभयो । कार्यक्रममा वागमती प्रदेश ट्राफिक प्रहरी कार्यालय रामनगरका प्रमुख प्रकाश रानाभाटाले ट्राफिक प्रहरीलाई प्रविधिमैत्री बनाउनुपर्ने आवश्यकता बताउनुभयो । विकासोन्मुख देशमा आवश्यकता अनुसार ट्राफिक परिचालन गर्न नसकेता पनि भएको जनशक्तिलाई प्रविधिसँग जोडेर परिचालन गर्नु आजको आवश्यकता रहेको उहाँको धारणा छ ।
नेपालमा दैनिक आठ जनाले सडक दुर्घटनाबाट ज्यान गुमाउँछन् त्यस्तै १८ देखि ३० जनाको हाराहारीमा मानिसहरु घाइते हुने गरेको दृष्टान्त प्रस्तुत गर्दै सडक दुर्घटना चुनौती र संवेदनशील विषय भएको उहाँको भनाई छ ।