हस्त मिलन होइन नमस्कार गरौँ

सम्पादकीय : छिमेरी राष्ट्र चीनबाट फैलिएको नोवेल कोरोना भाइरस सङ्क्रमितहरु नेपालमा पनि भेटिएका छन् । चीनबाट फर्किएका पाँच जनामध्ये एकजनालाई कोरोना भएको पुष्टी भइसकेको छ भने अन्य दुईजनामा पनि कोरोना सङ्क्रमण भएको आशङ्का गरिएको छ । त्यस्तै अर्का दुई जनामा कोरोना नभएको मन्त्रालयले जनाएको छ । कोरोना भेटिएका एक जनाको पनि उपचार पश्चात घर पठाइएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले बताएका छन् । चीनमा सङ्कट निम्त्याएको कोरोनाको सङ्क्रमण नेपालमा समेत देखिएपछि यसले आम मानिसमा त्रास बढाएको छ । कोरोनाकै कारण चिनियाँ नयाँवर्षमा नेपाल घुम्न आउने पर्यटकहरु उतै रोकिएका छन् । नेपाल सुरक्षित छ भनेर यता आउने सुरु गरेकाहरु पनि नेपालमा समेत भाइरस फैलिएपछि रोकिने अवस्था आएको हो । यो घटनाले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारी योजनामा ठूलै धक्का लागेको छ ।
रुघाखोकी लाग्नु, श्वासप्रश्वासमा समस्या देखिनु तथा ज्वरो आउनु कोरोना भाइरसको प्रमुख लक्षण हुन् । रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरुलाई यसले छिटो असर गर्नसक्छ । यसबाट बच्न हाँछ्यु गर्दा मुख छोप्ने, राम्रोसँग हात धुने, जनावरको सामिप्यतामा नरहने, खानेकुराहरु राम्रोसँग पकाएर खाने, आँखा सुरक्षित गर्न चस्मा लगाउने, भाइरस फिल्टर गर्ने मेडिकल मास्क प्रयोग गनुपर्ने डाक्टरहरुले बताएका छन् । मुख्यकुुरा त, यो भाइरसले नेपालमा प्रवेश पाएपछि महामारीको रुप लिनसक्ने सन्त्रास रहेको छ । नेपालमा सरुवा रोगको उपचार गर्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल मात्रै रहेको छ । यो अस्पतालले कति मान्छेलाई सुविधा दिनसक्छ भन्ने कुरा आफैमा शङ्काको घेरामा छ । भाइरस एक व्यक्तिबाट अर्कोमा सजिलै फैलनसक्छ । नेपालमा यो महामारी फैलन नदिन सरकारले विशेष व्यवस्था गर्नुपर्छ ।
हुन त सरकारले केही सावधानी अपनाउन सुरु गरेको छ । सरकारले मात्रै सावधानी अपनाएर हुँदैन । देशको सीमावर्ती नाका, विमानस्थल लगायतका ठाउँमा स्वास्थ्य परीक्षण गराएर मात्रै मानिसहरुलाई आवतजावत गर्ने व्यवस्था गर्नुपर्छ । अहिले रोग देखिएकाहरुको उपचार गर्दै रोगले महामारी रुप लिनसक्ने सम्भावनाप्रति सचेतता अपनाउनुपर्छ । बढी भीडभाड भएको ठाउँमा नजाने, अनिवार्य रुपमा सही तरिकाले मास्क प्रयोग गर्ने बानीको विकासले समेत रोगको सङ्क्रमणबाट जोगिन सकिन्छ । भरतपुरमा रहेका ठूलो अस्पतालहरुले यसबारे सचेतना बाँड्न सुरु गरेका छन् । हामीले हाम्रो गतिविधि समेत परिवर्तन गर्दै नमस्कार गर्ने बानीको विकास गरौँ । नमस्कार गर्दा धेरै रोगबाट सजिलै जोगिन सकिन्छ । हात मिलाएर आत्मीयता बाँड्न खोज्दा रोगको सङ्क्रमणको जोखिम उच्च हुने भएकाले हामीले नमस्कारमा नै जोड दिउँ । यो हाम्रो संस्कृति समेत हो ।