रंगशाला निर्माणका लागि धनधान्याचल महोत्सव सुरु

शान्ता अधिकारी, चितवन : चितवनको रामपुरमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालालाई आर्थिक सहयोग जुटाउन धनधान्याचल महोत्सव सुरु भएको छ ।

महोत्सवको मह जोडी मदनकृष्ण श्रेष्ठ हरिवंश आचार्यसहित २२ विधाका २२ जनाख्याती प्राप्त खेलाडीहरुले एक साथ उद्घाटन गरेका छन् । जनस्तरको सहयोगबाट निर्माण गर्न लागिएको रंगशालालाई थपआर्थिक सहयोग जुटाउन र क्रिकेट रंगशाला निर्माणमा सबैलाई अपनत्व हुने गरी माहोल बनाउन महोत्सव आयोजना गरिएको हो ।

पण्डित दीनबन्धु पोखरेलबाट कथा वाचन हुने श्रीमद्भागवत माहापुराणमा भजन किर्तनका साथमा विविध धर्मका आध्यामिक प्रवचन, सामाजिक, सांस्कृतिक मनोरञ्जानात्मक कार्यक्रम हुने आयोेजकले बताएको छ ।

महायज्ञ सुरु हुनु पुर्व हजारौ नागरिक शोभा यात्रामा सहभागि भएका थिए । आज भएको कलश यात्रामा चितवनका हरेक टोल तथा विभिन्न संघसंस्थाबाट हजारौँ नागरिक सहभागी बनेका थिए । बिहान १२ बजे मंगलपुर बजारबाट शुरु भएको शोभायात्रा गाबिसचोक हुँदै रंगशाला स्थित धनधान्याचलमहोत्सव परिसरमा पुगेको थियो ।

आफ्नो संघ संस्थाको ब्यानरसहित शोभायात्रामा हजारौं नागरिक उपस्थित भएका थिए । महोत्सवलाई सफल पार्न १ हजार १ सय ११ सदस्यीय मुल समारोह समिति, सो समिति मातहत ५९ वटा विभिन्न उपसिमित र २ सय ८३ सदस्यीय सचिवालय गठन गरिएको छ ।

माघ २६ गतेसम्म चल्ने यज्ञको उद्घाटनमा देशका राष्ट्रिय खेलाडीहरु, कलाकारहरु, राजनीतिक दलका नेताहरु रामपुर आएका छन् । महायज्ञबाट ५० करोड रुपैयाँ उठाउने योजना रहेको मूल आयोजक समितिले जनाएको छ