नयाँ–नयाँ प्रविधिबारे अपडेट गराउन क्यान मेला : उपाध्यक्ष तामाङ

चितवन : सूचना, सञ्चार तथा प्रविधिको क्षेत्रमा निरन्तरता र सक्रियताको साथमा काम गर्दै आएको गैरनाफामूलक संस्थाको नाम हो कम्प्युटर एसोसियसन अफ नेपाल (क्यान) फेडेरेशन अर्थात क्यान महासंघ । यसका शाखा देशका प्रमुख शहरहरुमा छन् । जस अन्र्तगत चितवनमा क्यान चितवन छ । जसले सूचना र प्रविधिको क्षेत्रमा हरेक बर्ष नयाँ नयाँ कार्यक्रमहरुलाई निरन्तरता दिँदै आएको छ ।
नेपालमा पनि सूचना प्रविधिजन्य थुप्रै कामहरु स्थानीयस्तरमै हुन थालेका छन् । यो क्षेत्रमा उद्यमशीलता अपनाउने युवा पुस्ताको लहर नै चलेको छ । यस्तै एउटा पात्र हुनुहुन्छ दिलीपकुमार तामाङ ।
विगत एक दशकदेखि आइटी क्षेत्रमा सक्रिय तथा क्रियाशील एवम् समाजसेवी नवीनतम प्रविधिसँग खेल्दै र गुणस्तरीय सेवा प्रदान गर्दै आउनु भएका भरतपुर–३ लायन्स चोकस्थित के.एल. मलमा रहेको फेसबुक कम्प्युटर सप्लायर्सका प्रोप्राइटर हुन् तामाङ । मुख्य गरी आफ्ना क्लाइन्टहरुको सन्तुष्टिलाई नै प्राथमिकता दिइरहेको बताउदै उनले विश्व बजारमा नेपालको नौलो प्रडक्ट दिने उद्देश्यले उहाँले नयाँ नयाँ प्रविधिका वस्तु चितवनमा भित्राएर विक्रिवितरणमा समेत विशेष जोड दिनुभएको छ ।
हाल कम्प्युटर एसोसिएसन महासंघ जिल्ला शाखा चितवनका उपाध्यक्ष हुनुहुन्छ । चितवन जिल्ला र यस वरपरका जिल्लाका विभिन्न संघसंस्था, कलेज, स्कुल, कार्यालयहरुमा कम्प्युटर र यससँग सम्बन्धित विभिन्न वस्तुहरुको स्तरीय सेवा दिँदै आउनु भएको छ । सेक्युरिटीसम्बन्धी विभिन्न वस्तु तथा सेवाको पनि स्तरीय र भरपर्दो सेवा प्रदान गरेकै कारण उहाँको फरक पहिचान छ । उहाँ चितवनका स्थापित युवा व्यवसायी हुनुहुन्छ । सूचना प्रविधिको क्षेत्रमा यस जिल्लामा क्रियाशील भएर लाग्नुभएका तामाङ यतिबेला माघ २४ गतेदेखी सुरु हुने पाँचौ प्रभु पे क्यान इन्फोटेक मेलाको तयारीमा व्यस्त हुनुहुन्छ । नयाँ–नयाँ प्रविधिहरु प्रर्दशनी गर्न आफुहरुले विगतको बर्षमा जस्तै यो पटक पनि मेला आयोजना गरेको बताउनुहुन्छ तामाङ । चितवनको सम्वृद्धि सूचना प्रविधि भन्ने नाराका साथ हुने मेलामा चितवनका विभिन्न स्कुल तथा कलेजका विद्यार्थीहरुले स्मार्ट सिटीसम्वन्धी नयाँ प्रविधिहरु मेलाका विशेष आर्कषण रहने उहाँले बताउनु भयो ।
प्रविधि प्रर्दशनीमा स्मार्ट सिटि कस्तो हुनुपर्छ भनेर प्रविधि मार्फत जानकारी प्रस्तुत गरिने र स्मार्ट सिटिका लागि घर, लाइट, इलेक्ट्रिक्स मिटर, ट्राफिक व्यवस्थापन र यातायात संचालन सवै स्मार्ट हुनुपर्छ भन्ने ज्ञान सो प्रर्दशनीमा प्राप्त गर्न सकिने उहाँले जानकारी दिनुभयो । यही माघ २४ देखि २८ गते भरतपुरको लायन्सचोक पुरानो सब्जी मण्डीमा हुन गइरहेको सूचना प्रविधि मेला (इन्फोटेक २०२०) मा प्रयोजक कमिटीको तर्फबाट सम्पूर्ण विद्यार्थी, शिक्षक, शिक्षिका, अभिभावकहरुमा उहाँले निमन्त्रणा पनि गर्नुभएको छ ।
नेपालमा अझै आइटी चेतनाको कमी छ । सरकारले अहिलेसम्म जतिसुकै ई–गभर्मेन्टको कुरा गरे पनि कुरामा मात्रै छ व्यवहारमा त्यस्तो देखिदैन । ‘हामी सूचना प्रविधिको कुरा गर्दा नेपाल सरकारको नीति पनि अहिले निकै चुनौती रहेको छ, उहाँले भन्नुभयो । हामीले विश्वबजारमा बिक्न सक्ने प्रडक्ट डेभलप गरेर पनि त्यो ठाउँसम्म पु¥याउन समस्या भइरहेको छ ।
के गर्ने, मार्केट कस्तो छ, कसरी काम गर्नै भनेर एउटा उपयुक्त योजना ल्याउनुपर्छ,’ उहाँ भन्नुहुन्छ, ‘सबैभन्दा ठुलो कुरा भनेको लगनशीलता हो । आइटी सेक्टरमा एक महिना चुप्प लागेर बस्नुभयो भने टेक्नोलोजीमा धेरै पछाडि परिन्छ त्यसैले ग्लोबल टेन्डमा आफुलाई अब्बल राख्न अप टु डेट भइरहनुपर्छ ।’
सर्वप्रथम त क्यान महासंघमा जुन किसिमको विश्वास आजको दिनसम्म त्यही कारण आफुहरुले मेलामा विशेष जोड दिएको उहाँको तर्क छ । भोलिका दिनमा त्यही किसिमको विश्वास कायम रही रहोस् उहाँ भन्नुहुन्छ । आउने नयाँ पुस्तालाई के सन्देश दिन चाहन्छु भने सूचना प्रविधि क्षेत्र एउटा यस्तो क्षेत्र हो जहाँ महिला र पुरुष भनेर विभेद गरिँदैन । यो बौद्धिक क्षेत्र भएकाले यहाँ न महिला न पुरुष । सबै बराबरी हुन्छ । मिलेर एक भएर काम गर्नु पर्ने हुन्छ ।
यो क्षेत्रमा नेपालमा मात्र नभएर विश्वभर उही पहुँच र पहिचान बन्ने भएकाले सूचना प्रविधिलाई प्राथमिकतामा राखेर अध्ययन गरिदिनुस् । करियर र भविष्य निक्कै उज्जवल छ उहाँ भन्नुहुन्छ ।
मेलामा देशभरका सूचना प्रविधिका कम्युटर, मोवाइल, ल्यापटप, स्मार्ट टीभी, सफ्टवेयर, उच्च शिक्षाका कन्सल्टेन्सी लगायतका ८१ वटा स्टलहरु रहने छन् भने ४१ लाख खर्च लाग्ने र ४५ लाख ६० हजार आम्दानी गर्ने लक्ष्य लिएको कोषाध्यक्ष रुपक नेपालले बताउनु भयो । यस्तै सूचना प्रविधिसम्बन्धी जनचेतना अभिवृद्धि गर्नका लागि सेमिनार, गोष्ठी र गेमिङ्गका स्टलहरु रहने क्यानले जनाएको छ । क्यान मेलामा सूचना प्रविधिका क्षेत्रमा भएका पछिल्ला उत्पादन तथा सेवाबारे जानकारी समेत लिन सकिने छ । साथै टेलिभिजन मोबाइल, कम्प्युटर, ल्यापटप तथा बिभिन्न सफ्टवेयर र हार्डवेयरहरुको खरिद बिक्री समेत मेलामा हुनेछ ।