इच्छाकामना घुमौ (फोटो फिचर)

प्रविण कंडेल, कुरिनटार  : चितवनलाई काठमाडौं र पोखरा पछिको नेपालकै प्रमुख पर्यटकीय गन्तब्यका रुपमा लिने गरिन्छ । त्यसै जिल्ला अन्तर्गत पर्ने इच्छाकामना गाउँपालिका प्राकृतिक, धार्मिक, ऐतिहासिक तथा सांस्कृतिक विविधताको दृष्टिले पर्यटनको प्रचुर सम्भावना बोकेको स्थल हो । चण्डिभञ्ज्याङ्ग, काउले, दाहाखानी, जलबिरे झरना, सिराईचुली, हात्तीवाङ, उपरदाङगढी, याकराङ, इच्छाकामना मन्दिर जस्ता क्षेत्र यहाँको आकर्षक पर्यटकीय गन्तव्य हुन् ।

नेपालकै पहिलो केवलकार देखि त्रिशूली नदीको र्याफ्टिङ सम्मको आनन्द लिन पर्यटकहरु यहाँ आउने गरेका छन् । सन् २०२० को पर्यटन बर्षलाई सफल पार्नका निम्ति यस्ता स्थलको खोजी, संरक्षण र प्रवर्द्धन गर्न आवश्यक देखिन्छ । यस गाउँपालिका विविध जातजाति, भाषा, धर्म र संस्कृतिको संगम स्थल हो ।

जहाँ अति सिमान्तकृत चेपाङ समुदाय देखि गुरुङ्ग, मगर, तामाङ्ग, नेवार, थकाली जातिसम्मको संस्कृति र मौंलिक रहनसहन देख्न पाइन्छ । स्तरीय रिसोर्ट, होटल तथा रेस्टुरेण्टहरू देखि गाम्रीण भेगमा रहेका होमस्टेले पर्यटकलाई निरन्तर आतिथ्य सत्कार प्रदान गर्दछन् । सडक सञ्जालका साथै आम मानिसमा घुम्ने संस्कृतिको विकास भए संगै पर्यटकीय गतिविधिमा क्रमशः व्यापकता आउँदैछ । यस लेखमा इच्छाकामनाका पर्यटकीय केन्द्र र तिनको सौन्दर्यता देखाउने जमर्को गरिएको छ ।

इच्छाकामना मन्दिर

पृथ्वी राजमार्गमा पर्ने फिस्लिङ बजारबाट गाडीमा करिब ३ घण्टाको यात्रा पछि मन्दिर पुगिन्छ । ट्रेकिङ गर्न रुचाउनेका लागि मुग्लिनबाट करिब ५ घण्टा पैदल हिँडेर पनि यहाँ पुग्न सकिन्छ ।

दर्शनार्थी लागि मन्दिर नजिकै आवास सहितको होटल रहेको छ । यसै मन्दिरबाट नै समग्र गाउँपालिकाको नाम राखिएको तथ्यले नै  मन्दिरको महत्वपूर्ण स्थानलाई दृष्टिगत गर्दछ । भक्तजनले इच्छाएको पूरा गर्ने मान्यता वमोजिम यी देवीलाई इच्छाकामना भनिएको हो । कार्तिक, मङसिर महिनामा पुग्ने पर्यटकले गाउँ नै सुन्तालाले पहेँलपुर भएको देख्न पाउँछन् ।

त्यसै फागुन, चैतमा लालीगुराँसले रंगीन वनपाखाले स्वागत गर्दछन् । आकर्षक फलफूलका साथै तरकारी खेती, मनोरम हिम श्रृङ्खला र प्राकृतिक सुन्दरताको दृष्टिले यो आकर्षक गन्तव्य हो ।

यस मन्दिर क्षेत्रमा प्रत्येक वर्ष मङ्सिरको ठूलो एकादशीपछि पञ्चमी तिथिका दिन ठूलो मेला लाग्ने गर्दछ । मन्दिर परिसरमा गणेशको मूर्ति र शिवालय मन्दिर पनि स्थापना भएको छ । प्रसिद्ध मनकामना मन्दिरको वहिनीको रुपमा लिइने इच्छाकामना मन्दिरको हाल जिर्णोद्धार कार्य भै राखेको छ ।

सिराइचुली

महाभारत पर्वत श्रृंखला अन्तर्गत चितवन जिल्लाको सबैभन्दा अग्लो (१९४६ मि.) स्थान सिराइचुली जानको लागि पृथ्वी राजमार्गको हुग्दीबाट गाडी अर्थवा पैदल यात्राको विकल्प रोज्न सकिन्छ । ५ घण्टाको हिँडाइ वा डेढ घण्टाको मोटरयात्रा पछि चेपाङ्ग, होम स्टे भएको हात्तीवाङ्ग पुगिन्छ । सिराइचुली घुम्न जानेका लागि हात्तीवाङ्गमा होटल तथा होमस्टे सुविधा उपलब्ध छ ।

त्यो भन्दा पर मोटरवाटो र वस्ती छैन । हात्तीवाङ्गवाट करिब २ घण्टा सिढीबाटो उकालो हिँडेपछि विहान सूर्याेदयका साथै वेलुकी सूर्यास्तको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ ।

चितवनको सर्वोच्च चुलीबाट उत्तर हेरे हिमाल र दक्षिण हेरे तराइका समथर फाँटहरु देख्न सकिन्छ । मौसम सफा रहेका वेला यहांबाट चितवनको तराईफाँट, तथा छिमेकी जिल्लाहरु धादिङ, गोरखा, मकवानपुर र नवलपरासीको भूभाग तथा धौलागिरि, अन्नपूर्ण, लाङ्टाङ, गणेश, मनास्लुलगायतका हिम शृङ्खला समेत देख्न सकिन्छ । चैत–वैशाखमा वनैभरि गुराँस फुल्ने यो पहाडी जंगल दुर्लभ मानिने विभिन्न प्रजातीका चराहरुको वासस्थान पनि हो ।

जलबिरे झरना
राजमार्गमै रहेको जलबिरे मन्दिरबाट करिब २० मिनेटको उकालो लागेपछि सुन्दर जलबिरे झरना रहेको ठाउँ पुग्न सकिन्छ । हरिया पहाडहरुको बिचमा रहेको ६० मिटरभन्दा लामो झरनाले पर्यटकको मन लोभ्याउने गरेको छ ।

भीर, पहरा, छाँँगा र छहराको संयोजनले मनोरम प्राकृतिक सुन्दरता दर्शाउँछ । यस ठाउँमा स्विमिङका साथै क्यानोनिङ, रक क्लाइम्बिङ, हाइकिङ जस्ता साहसिक गतिविधि गर्न सकिन्छ ।

विशेष गरी गर्मीयाममा शितल हावाका साथै छाँगोबाट झरेको जलवृष्टिको दृश्य निकै मनमोहक एवम् आनन्ददायी हुन्छ । पछिल्लो समयमा शौचालय, चेन्जिङ रुम, पौडी पोखरी संगै सिंढी निर्माणले  यहाँ आउने पर्यटकलाई थप सहजता प्रदान गरेको छ ।

कोलाहल पूर्ण वातावरणवाट टाठा गई तनाव र थकान मेट्न चाहनेका लागि यो निकै उत्कृष्ट गन्तव्य हो । गुरुङ समुदायको संस्कृति अवलोकन सहित वास वस्न चाहनेका लागि झरनामाथि रहेको याकराङ गाउँमा होमस्टे पनि सञ्चालन गरिएको छ ।

उपरदाङगढी
ऐतिहासिक पर्यटकीय महत्व बोकेको उपरदाङगढी चितवन जिल्लाको पुरानो सदरमुकाम पनि हो । शक्तिखोरबाट करिब ३ घण्टा हिँडेर चेपाङ, मगर र गुरुङहरुको पातलो बस्ती भएको गाउँ उपरदाङगढी पुग्न सकिन्छ ।

यस ठाउँ जिल्लाको पुरानो सदरमुकामका साथै नेपाल-अंग्रेज विचको युद्धस्थल पनि हो । पृथ्वीनारायण शाहका नाति शत्रुभञ्जन शाहले निर्माण गराएको किल्लामा ढुंगा, माटो र चुनको प्रयोग गरीएको छ ।

पुरातत्व विभागमा रहेको जानकारी अनुसार यस किल्लाको निर्माण सन् १८०० मा भएको र सन् १९६० सम्म चितवनको सदरमुकाम रहेको देखिन्छ । गढीभित्र कोत घर (हतियार भण्डारण कक्ष), गणेश, कालिका र सिद्धबाबाको प्रतिमा, इनार लगायतका संरचना रहेका छन् ।

त्रिशुली नदी (र्‍याफ्टिङ)
कालीगण्डकी, भोटेकोशी, त्रिशुली जस्ता नदी जलयात्राका दृष्टिले सम्भावना बोकेका महत्वपूर्ण नदिहरू हुन् । त्रिशुली नदीले छोएको धादिङका साथै चितवनको क्षेत्रमा पनि र्‍याफ्टिङ हुने गर्दछ ।

गर्मीको मौसममा पानी संगै रम्न र साहसिक गतिविधि गर्न रुचाउनेका लागि यो राम्रो गन्तव्य हो । फिस्लिङ देखि कुरिनटार सम्मको र्‍याफ्टिङ करिब एक घण्टा मै पुरा गर्न सकिन्छ ।

पृथ्वी राजमार्ग मै रहेको अन्य विभिन्न स्थानबाट छोटो तथा लामो दूरीको जलयात्रामा जानका निम्ति बिभिन्न प्याकेजहरु उपलब्ध छन् । यहाँ र्‍याफ्टिङ तथा कायाकिङ गर्न सयौं आन्तरिक तथा बाह्य पर्यटकहरु आउने गर्दछन् । यस क्षेत्रको नदी सरसफाई र प्रचारमा ध्यान दिन सके अझै थप पर्यटकलाई आकर्षित गर्न सकिन्छ ।

पर्यटकीय गन्तव्यको पहिचान र संरक्षणका साथै प्रचार महत्वपूर्ण पक्ष हो । जसले पर्यटनलाई बढावा दिन सघाउ पुर्याउछ । पर्यटक भित्र्याउनुका साथै तिनको वसाई अवधि लम्ब्याउन सके समग्र क्षेत्रको आर्थिक उन्नतिमा टेवा पुर्याउछ ।

त्यसका निम्ति विभिन्न प्याकेजहरु संचालन गर्ने आवश्यक देखिन्छ । हुग्दी, हात्तिवाङ, सिराइचुली हुदैं  जयन्दला, गढी, शक्तिखोर निस्केर चितवन राष्ट्रिय निकुञ्ज सम्म पुग्ने ट्रेकिङ रुटको स्तर उन्नती र प्रचारले चितवनको पहाडी बेल्टलाई फन्को मार्न सके महत्वपूर्ण उपलब्धि हासिल गर्न सकिन्छ ।

स्वच्छ, शान्त अनि सुन्दर वातावरणमा पर्यटक लगेर आनन्द दिन सके पहाडको विकटतामा पनि विकासका लहर सिर्जना हुने थिए। भ्रमण वर्षलाई सफल पार्नका निम्ति पहिले आफ्नै गाउँठाउँ घुम्न जाऔँ है ।