पूर्व-बाललडाकु भन्छन्‌ : ‘अलपत्र पर्‍यौं, कुल्ली काम भए पनि देऊ’

दिनेश न्यौपाने, काठमाडौं : तत्कालिन नेकपा माओवादीले नेतृत्व गरेको १० वर्षे शसस्त्र युद्ध लडेका लडाकुहरुले १३ बर्षपछि पनि आफूहरुलाई जीवन जिउन मुस्किल परिरहेको दुःखेसो गरेका छन्।

उनीहरुले समाजमा अझैपनि आफूहरु स्थापित हुन सक्ने अवस्था नरहेको तथा सहज जीवन-यापनका लागि सरकारले ध्यान नदिएको भन्दै विभिन्‍न माग अघि सारेका छन्। ‘कि जन कि धन’ भन्दै थुप्रै बालबालिकालाई समेत माओवादीका नेताहरुले-कार्यकर्ताहरुले युद्धमा संलग्‍न गराएका थिए। यसरी कलिलै उमेरमा जङ्गल पसेकाहरुमध्ये कोही अंगभंग भए भने कतिले ज्यान नै गुमाए।

विस्तृत शान्ति सम्झौतापछि माओवादी विद्रोहमा पूर्णविराम नै लाग्यो। तत्कालिन सरकार र राजनीतिक दलहरुसँग विभिन्‍न सम्झौता गर्दै माओवादी शान्ति प्रक्रियामा फर्कियो। तर, १३ वर्ष अघिको सोही शसस्त्र माओवादी द्वन्द्वमा होमिएका लडाकुहरु अहिले पनि जीवन-यापन सहज नभएको गुनासो गरिरहेका छन्।

अयोग्य घोषित पूर्व बाल लडाकु शोभा पराजुली आफूलाई व्यवस्थित गर्ने भनेर ‘क्यान्टोनमेन्ट’बाट निकालिए पनि राज्यले आफुहरुको पीडा नसुनेको बताईन्।

‘द्वन्द्वपीडित पूर्व बाललडाकुहरुको जीवनयापन’ बिषयक अन्तरसंवादमा प्रमुख वक्ता रहेका उर्जा जलश्रोत तथा सिंचाईमन्त्री बर्षमान पुनलाई पराजुलीको प्रश्‍न थियो, ‘हिजो हामी योग्य भएर निरन्तर लड्यौं, लडदा -लड्दै पछि तपाईहरुको व्यवस्था गर्छौं भनेर हामीलाई निकालियो, अहिले किन यस्तो अवस्थामा छाड्नुभयो?’ उनले थपिन्‌, ‘१० बर्ष पुरा भैसक्यो, अब के यत्तिकै हो त?

अब हामी के गर्ने त? हामीसँग कुनै योग्यता नभएका कारण रोजगारीबाट समेत बञ्चित भएका छौं।’ उक्त कार्यक्रममा शोभा जस्तै थुप्रै पूर्वलडाकुहरुले मन्त्री पुनका अगाडी आफ्ना पीडा र आक्रोशको गाँठो फुकाए।

कोही भावुक देखिए भने कोहीले आक्रोश व्यक्त गरे। यस्तै, अर्का लडाकु अर्जुन बुढाथोकीले आफूहरुका पीडा जस्ताको तस्तै रहेको सुनाए। उनले राजनीतिक परिवर्तन भएपनि परिवर्तनका लागि लडेका आफूहरुको जीवनले काँचुली फेर्न नसकेको भन्दै मन्त्री पुनलाई सोधे, ‘हामीले बारम्बार भन्दा नसुन्‍ने/नदेख्‍ने किन? कि त हाम्रा कान र आँखा छैन भन्दिन पर्‍यो मन्त्रीज्यूले!’

\पूर्वलडाकुहरुको पीडा यथावत्‌ रहे द्वन्द्व निम्त्याउने बुढाथोकी बताउँछन्‌। उनले थपे, ‘यिनीहरुले केहि गर्न सक्दैनन्‌ भन्ने सोच्‍नु भएको छ यसले गलत सन्देश दिन्छ, हामीले हिजो पनि युद्ध गरेर आएका हौँ, उपहार पाएको ज्यान हो, अझै पनि बलिदान गर्न तयार हुन्छौं।’

अयोग्य र नाबालक भन्दै २०६६ साल पुष २३ गतेदेखि माघ २४ गतेसम्म देशका विभिन्न शिविरबाट जनही २२ हजार रुपैयाँ नगद दिएर ४ हजार ८ जना माओवादी लडाकुहरुलाई निकालिएको थियो।

त्यसयता उनीहरुले आफूहरु अझैसम्म समाजमा स्थापित हुन नसकेको बताउँदै आएका छन्। आफ्नो परिवार र समाजबाट अझै भागेर टाढा बस्‍न परेको पीडा पनि सुनाउँदै अर्का पूर्व बाललडाकु प्रदिप ढुंगेलले भने, ‘हाम्रो भविष्य त एकदमै बर्बादै भएको छ, त्यति बेला १४–१५ बर्षको उमेरमा युद्धमा लागेर १०औँ वर्ष बितायौं, अब त ३१–३२ बर्षका भइसक्यौं, घर र सामाजमा गएर बस्‍न सक्ने स्थिति छैन्, समाजले माओवादी भन्‍नासाथ पुरानै ‘इगो’  पालेर बसेको छ,’ उनले थपे, ‘आज यस्तो भएर आईस भन्‍ने बेइज्जत सहनु परेको छ।’

पूर्व लडाकुहरुले राज्यका तर्फबाट आफूहरुलाई गरिखाने वातावरण सिर्जना गर्ने विश्वास व्यक्त गरे। कार्यक्रममा सहभागी केहिले त सरकारले आफूहरुलाई विकास निर्माणका काम लगाइदिए पनि हुने बताए। यसका साथै, सस्तोमा ऋण उपलब्ध गराईदिए आफुहरुको जीवन-यापन सहज हुने उनीहरुको भनाई छ।

थुप्रै पूर्व बाललडाकुहरुका गुनासा र मर्का सुनेपछि उर्जामन्त्री तथा पूर्व जनमुक्ति सेनाका कमाण्डर पुनले समस्या समाधान गर्ने आश्वासन दिए। उनले यस बिषयमा प्रचण्ड पनि चिन्तित रहेको बताए। सरकारको एक मन्त्रीका हैसियतमा आफूले प्रचण्ड र ओलीसँग समस्या समाधानका लागि पहल गर्ने बताए। उनले भने, ‘अब कसैले गुनासो गर्न नपाउने ढंगले मैले आफुले पनि पहल गर्छु।’

अहिले सरकारमा तत्कालिन द्वन्द्वको नेतृत्व गर्नेहरु नै छन्। सरकारमा रहेकाहरुले अझै पनि द्वन्द्वपीडित तथा पूर्व लडाकुहरुको समस्या समाधानमा आश्वासन दिन भने छाडेका छैनन्। तत्कालिन समयमा शसस्त्र युद्धमा होमिँदा बाल लडाकु रहेकाहरु अहिले वयस्क उमेरका भएका छन्। तर, जनयुद्धमा लडेका तिनै लडाकुका समस्या समाधानका लागि नेतृत्वले ध्यान दिएको छैन।