उदार पश्चिमा समाज, यसकारण बढ्दैछ विवाहपूर्वको ‘यौनसम्बन्ध’

डा. निगेल बार्बर, काठमाडौं : पहिलेको तुलनामा धेरै मानिस ‘सेक्स’का मामिलामा सक्रिय छन्। यसको वास्तविक कारण बढी व्यावहारिक छ, न कि बदलिँदो धार्मिक विश्वास।

अमेरिकामा एक शताब्दीअघि मात्र ११ प्रतिशत महिला विवाहपूर्व यौनसम्पर्कमा संलग्न थिए, तर अहिले यो तथ्याङ्क निकै धेरै छ। यही प्रवृत्ति अन्य विकासोन्मुख देशहरूमा पनि देखिन्छ।

यो सूचीले सबै किसिमका आस्था र धर्मलाई समेटी व्यावहारिक कारण पत्ता लगाएको छ।

गर्भनिरोधन

प्रभावकारी गर्भनिरोधक उपायको बढ्दो प्रयोगसँगै आजका महिलाहरूमा पहिलेकामा झैँ नचाहिने गर्भधारणको डर छैन। सन् १९७० मा गर्भनिरोधक औषधीको व्यापक प्रयोगलाई मुख्य घटनाका रूपमा हेरिएको छ।

यो उपाय प्रभावकारी भएकोले र महिलाको नियन्त्रणमा रहेकोले नचाहिने गर्भको डर हटेको छ।

घट्दो अभिभावकीय निगरानी

दुवै अभिभावक काम गर्ने हुँदा टिनएजरहरू स्कुलपछि त्यति निगरानीमा रहन्नन्। यही अवसरलाई उनीहरू ‘सेक्स’का लागि प्रयोग गर्न सक्छन्। उच्च शिक्षा पछ्याउँदै जाँदा धेरै महिलाहरू परिवारबाट टाढा रहन्छन्।

यौनका मामिलामा कुण्ठित समाजका एकल युवती आफन्तको निगरानीमा हुन्छन्। तर, परिवार र कहिलेकाहीँ आफन्तबाट अलग रहँदा उनीहरू यौनजन्य क्रियाकलापमा संलग्न हुने सम्भावना हुन्छ।

महिलामा चाँडो परिपक्वता, ढिलो विवाह

सन् १८६० मा महिलाहरू पहिले १६ वर्ष नपुगेसम्म प्रजननका हिसाबले परिपक्व हुँदैनथे, तर अहिले महिलाहरू ११–१२ वर्षमै परिपक्व भइसक्छन्। युरोप र अमेरिकी महिलाहरूमा पहिलो विवाहको उमेर औसत २९ वर्षको छ।

यसरी परिपक्वतादेखि विवाहसम्म १० देखि २० वर्षसम्मको फरक हुँदा यौनसम्पर्कबाट टाढा रहनु त्यति सजिलो हुँदैन।

कार्यस्थलमा धेरै महिला उपस्थित हुनु

धेरै महिलाले काम गर्न थालेसँगै कार्यस्थलमा अविवाहित युवतीहरूको सङ्ख्या पनि बढ्दो छ। उनीहरू प्रायः प्रजननका हिसाबले सक्रिय हुन्छन्।

कार्यस्थलमा लैङ्गिक समानता

पहिले महिला आफ्ना बुबा वा पतिमाथि आर्थिक रूपले निर्भर हुन्थे, तर अहिले त्यो अवस्था छैन। बढ्दो आर्थिक स्वतन्त्रता र महिला घरमूलीका सङ्ख्यामा वृद्धिसँगै उनीहरू आफ्नो ‘सेक्स’ जीवनको मालिक आफै भए। यससँगै विवाहपूर्व यौन क्रियाकलाप र एकल अभिभावकको भावना बढेको महिलावादी लेखकहरूले पनि लेखेका छन्।

महिला झन् प्रतिस्पर्धात्मक र उत्तेजना खोज्ने

आजका महिलाहरू खेलकुद, शिक्षा, राजनीतिदेखि अन्य पेशाव्यवसायमा विभिन्न क्षेत्रमा प्रतिस्पर्धात्मक रूपमा अगाडि आएका छन्। प्रतिस्पर्धी भावना शरीरभित्रको हर्मोनसँग सम्बन्धित छ, जुन दुवै महिला–पुरुषमा यौनभावना बढाउनेसम्म पनि सम्बन्धित छ।

यससँगै महिलाहरूले पनि खुला रूपमा पेय पदार्थ खाँदा उनीहरू यौनसम्पर्कतर्फ उन्मुख भएको अध्ययनले देखाएको छ। उनीहरू यौन मामिलामा झन् उदार हुँदै गएका छन् र, त्यसैले पनि विवाहपूर्व यौन गतिविधि बढाएको देखिन्छ।

घट्दो विवाह

विशेषतः पश्चिमा देशमा विवाह घट्दै गइरहेको छ। अमेरिकामा करिब २० प्रतिशत महिला अविवाहित रहने गरेका छन्। विवाहिता पनि एकै व्यक्तिसँग विवाह सम्बन्धमा रहन्छन् भन्ने पनि छैन र, सम्बन्धविच्छेद भएका सबैले पुनः विवाह गर्छन् भन्ने छैन।

अमेरिकामा प्रायः पहिलो विवाह सम्बन्ध विच्छेदमा गएर टुंगिन्छ र पहिलो विवाहको समय औसत सात वर्षको छ। अविवाहिता, ढिलो विवाह र पटकपटक सम्बन्ध विच्छेदसँगै धेरै महिलाहरू एक्लो बसछन् र यसले पनि विवाहपूर्व सेक्सलाई बढावा दिएको छ।

सेक्स बजार

ठूलो सङ्ख्यामा एक्लो महिला हुनुको अर्थ हो, पुरुषहरूमा यौनसम्बन्धका लागि विवाह गर्नुपर्छ भन्ने बाध्यता छैन। यदि कुनै पुरुष दीर्घकालीन प्रतिबद्धताबिना धेरै महिलासँग सम्बन्ध राख्छ भने उसले तीमध्ये कसैसँग विवाह प्रस्ताव नगर्न सक्छ।

त्यसैले प्रायः सुरुमा पुरुषले यौनसम्बन्ध चाहने र पछि विवाहजस्तो लामो प्रतिबद्धतामा त्यो घट्ने आधारमा प्रेम सम्बन्ध चल्छ। यौन खुलापनको विषयमा यहाँ याद गर्नुपर्ने कुरा चाहिँ, महिलाले आर्थिक शक्तिआर्जन गर्दै गर्दा सम्बन्धमा भने शक्ति गुमाएको छ।

०००

यी बुँदाहरूलाई मैले ४० वटा देशमा तुलनात्मक रूपमा हेरेको थिएँ। मेरो अध्ययनमा विवाहपूर्वको यौनसम्बन्धमा स्वीकृति नै पाएको छु।

रोजगारी क्षेत्रमा र अझ राम्रो कमाइमा महिलाको सहभागिता भएको ठाउँमा विवाहपूर्व यौनसम्बन्ध बढी हुने मेरो अध्ययनले देखाएको छ। जहाँ विवाह सम्बन्ध कमजोर छ (अर्थात् कम विवाह हुने वा धेरै सम्बन्ध विच्छेद हुने) त्यहाँ विवाहपूर्व यौनसम्बन्ध बढेको देखिन्छ। जुन देशमा धेरै बालबच्चा विवाहेतर सम्बन्धबाट जन्मिन्छ, त्यहाँ विवाहपूर्व यौनसम्बन्ध धेरै स्वीकार्य छ भने जहाँ धार्मिक कट्टरता छ त्यहाँ यो निषेधित छ।

पाकिस्तानजस्ता देशमा विवाहपूर्वका सम्बन्धलाई कडा दण्ड छ, ‘अनर किलिङ’ अर्थात् प्रतिष्ठाका लागि हत्याजस्ता घटना हुन्छ। यस्तो अवस्थामा यौन क्रियाकलापमा धर्मको असर शास्त्रीयभन्दा व्यावहारिक देखिन्छ। (साइकोलोजी टुडेबाट)

.