बिहेको कार्ड छपाउन अब जन्मदर्ता अनिवार्य

सुर्खेत: सल्यानका छापाखानाहरूमा बिहेका लागि कार्ड छाप्दा बेहुला-बेहुलीको जन्मदर्ता अनिवार्य हुने भएको छ। बालविवाह न्यूनीकरण गर्ने उद्देश्यले जिल्लामा रहेका छापाखाना सञ्चालकहरूले बिहेको कार्ड छाप्दा जन्मदर्ता अनिवार्य हेरिने प्रतिबद्धता गरेका छन्। २० वर्ष भन्दा कम उमेरको भए बिहेको कार्ड नछाप्ने उनीहरूकाे भनाइ छ।

शारदा नगरपालिका र जिल्ला प्रहरी कार्यालय सल्यानले आयोजना गरेको कार्यक्रममा सहभागी छापाखाना तथा अफसेट प्रेसका सञ्चालकले बालविवाह न्यूनीकरणका लागि प्रहरीले थालेको अभियानमा सहयोग पुर्‍याउने उद्देश्यले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन्।

बालविवाहलाई न्यूनीकरण गर्न सकारात्मक सन्देशका लागि वर–वधुको जन्म दर्ताको कागज माग्ने निर्णय गरेको बनगाड कुपिण्डे नगरपालिका–१ मा रहेको दीपज्योति छापाखाना सञ्चालक दीपेश केसीले बताए।

“बिहेमा निम्तो कार्ड बाँड्ने चलन छ। प्रेसमा छपाइका लागि वरवधु दुवैको तर्फबाट कार्ड छपाइ हुन्छ। यदी केटाकेटीको उमेर २० वर्ष मुनि भए हामी बिहेको कार्ड छाप्नेछैनौं”, शारदा नगरपालिका-२, खलंगामा रहेको गीता अफसेट प्रेसका सञ्चालक प्रकाशसिंह थापाले भने। बालविवाह सामाजिक अपराध भएकाले यसको अन्त्यका लागि आ–आफ्नो क्षेत्रबाट योगदान आवश्यक रहेको उनको भनाइ छ।

सल्यान जिल्लामा सञ्चालनमा रहेका आधा दर्जन अफसेट प्रेस तथा छापाखानाले बालविवाह न्यूनीकरण गर्ने प्रतिबद्धता गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले जानकारी दिए। उनका अनुसार सल्यानमा बालबिवाह न्यूनीकरण लागि प्रहरीले जिल्लाव्यापी अभियान सञ्चालन गरेको छ।

स्थानीय तह र प्रहरीको सहकार्यमा हालसम्म बनगाड कुपिण्डे नगरपालिका, शारदा नगरपालिका, त्रिवेणी गाउँपालिका र छत्रेश्वरी गाउँपालिकामा आकस्मिक नम्बरसहित बाल विवाह रोक्न घर-घरमा स्टिकर टाँस गरिएको छ। जिल्लामा रहेका ४६ हजार घरधुरीमा बालविवाह रोक्न जनचेतामूलक कार्यक्रम लिएर पुग्ने प्रहरीको योजना छ। “सबै पक्षसँग समन्वय तथा सहकार्य गरेर बालविवाह रोक्न लागेका छौं”, प्रहरी नायव उपरीक्षक खतिवडाले भने, “अहिलेसम्म तीनजना पुरोहित र सातजना अभिभावकलाई कानूनी कारबाही गरिएको छ।”

स्थानीय तहका जनप्रतिनिधिले कम उमेरमा गरिने बिहे बहिष्कार गर्ने जनाएका छन्। बालविवाह रोक्न जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गर्ने गरिएको छ।

जनचेतना र कानूनी प्रक्रिया सँगसँगै अगाडि बढाउने गरी आफूहरू लागिपरेको शारदा नगरपालिका नगर प्रमुख सुरेश अधिकारीले जानकारी दिए। उनका अनुसार नगरभित्रका सबै जनप्रतिनिधि र कर्मचारीले कम उमेरमा गरिने बिहेको निम्तो अस्वीकार गर्ने गरिएको छ।

जिल्लामा क्रियाशील पुरोहित तथा ज्योतिषले पनि बालविवाह कम गर्ने प्रतिबद्धता जनाएका छन्। जिल्लाका ९४ जना पुरोहितले सामूहिक प्रतिबद्धता जनाएका हुन्।

पुरोहित तथा ज्योतिषीले २० वर्ष मुनिको उमेरमा गरिने बिहेमा सहभागी नहुने सामूहिक प्रतिबद्धता गरेको शारदा नगरपालिका–६ का टोपेन्द्रप्रसाद शर्माले जानकारी दिए।