स्थानीय तहले ऋण तिरिदिएपछि वादी समुदायमा खुसी

मोहन जोशी, धनगढी : बलियाे आयस्राेत नभएका कारण साहुको ऋण तिर्न नसकेर समस्यामा परेका बझाङस्थित वादी समुदायको ऋण स्थानीय तहले तिरिदिएको छ।

जयपृथ्वी नगरपालिका-१० वादी टोलमा रहेका १३ परिवारले विभिन्न कामका लागि ७ जनाबाट लगेको ८ लाख ३० हजार रुपैयाँ नगरपालिकाले तिरिदिएको हाे।

ऋण तिर्न नसक्दा साहुको यातनामा पर्दै आएका वादी समुदायलाई जीवनयापनमा सहज होस् भन्ने उद्देश्यले ऋण तिरिदिएको नगरपालिकाका मेयर वीरेन्द्र खड्काले बताए। साहुको ऋण चुक्ता भएपछि वादी समुदायको ठूलो समस्या टरेको मेयर खड्काकाे भनाइ छ।

यसैगरी घर नभएका ८ वादी परिवारलाई ‘जनता आवास’ कार्यक्रममा समावेश गरी प्रतिघर २ लाख ३२ हजार रुपैयाँ उपलब्ध गराइएको १० नम्बर वडाका अध्यक्ष दलबहादुर विष्टले बताए।

उनका अनुसार भवन निर्माणका लागि स्थानीय तहबाट प्रतिघर एक लाख तथा जनता आवास कार्यक्रमबाट १८ लाख ५६ हजार रुपैयाँको लागतमा ८ वटा नयाँ पक्की घर निर्माण भइरहेका छन्। अब साहुको ऋणबाट मुक्त भएका वादी समुदायले टोलको नाम नै परिवर्तन गरी मुक्ति टोल राख्ने योजना बनाएको उनले बताए।

वडाध्यक्ष विष्टले आफ्नै व्यक्तिगत लगानीमा वादी समुदायमा खानेपानीको धारासमेत निर्माण गरिदिएका छन्। साहुको ऋण स्थानीय तहबाट बेहोरेपछि वादी समुदायले ठूलो राहत महसुस भएको प्रतिक्रिया दिएका छन्।

३५ वर्षीया हरिना वादीले छोराछोरीका लागि खानाको जोहो गर्न लिएको ऋण तिर्न नसक्दा दैनिक साहुको गाली खानुपर्ने दिन अन्त्य भएको भन्दै खुसी व्यक्त गरिन्। ऋणकै कारण पकाएको खानासमेत खाहुले खान नदिएको स्मरण गर्दै उनले अब भने ती दिनको सामना नगर्नुपर्ने बताइन्। स्थानीय जनतारा वादीले ४ लाख ऋण तिर्न नसक्दा घर छाडेर जानुपर्ने अवस्था आइरहेका बेला नगरपालिकाले ठूलो गुण लगाएको बताइन्।