भान्सामा नछुटाउनुस् है, भिटामिन ‘सी’ को खानी कागती

काठमाडौं : कागती सबै मौसममा जुनसुकै ठाउँमा पाइने शरीरलाई अत्यधिक फाइदा दिने फल हो। यो स्वास्थ्यका लागि अति लाभदायक छ।

यसले खानामा स्वाद बढाउँछ। साथै, यसमा औषधी तथा सौन्दर्यको गुण रहेको हुन्छ। कागती भिटामिन ‘सी’ को महत्वपूर्ण स्रोत हो। भिटामिन ‘सी’ले रोगसँग लड्नसक्ने रोग प्रतिरोधात्मक क्षमता प्रदान गर्छ।
विशेषतः कागती पानी, चिया र अचार बनाउन बढी प्रयोग गरिन्छ।

कागतीमा भिटामिन सी १ सय २९ ग्राम, पानी ९६ प्रतिशत, पोटासियम खनिज १ सय १६ मिलिग्राम, क्याल्सियम १ सय ३४ मिलिग्राम, फाइबर १०.६ ग्राम, चिनी तीन ग्राम, कोलेस्ट्रोल शून्य ग्राम हुन्छ।

यसले हाम्रो शरीरमा विभिन्न रोग लाग्नबाट बचाउन मद्दत गर्छ। यो हाम्रो भान्सामा सजिलै पाइन्छ। तर, कतिपयलाई यसको गुणबारे थाहा नहुन सक्छ।

कागतीबाट हुने फाइदा

१.कागतीले शरीरमा रहेको चिल्लो पदार्थलाई नियन्त्रणमा राखी रगत र कलेजोको कोलस्ट्रोल घटाउँछ।

२.कागतीको नियमित सेवन गर्नाले तौल नियन्त्रण हुन्छ। मोटोपनादेखि मुक्त हुन दैनिक खाली पेटमा तातोपानी, कागती र मह मिलाएर खानाले शरीरको तौल घट्दछ।

३.कागतीपानीको सेवनले कलेजो सफा हुन्छ। यसले कलेजोका इन्जाइमर कमजोर भएकालाई ऊर्जा प्रदान गर्छ।

४.कागतीको रस, मरिच, धनियाँ वा भुटेको जिरा मिलाएर सेवन गर्नाले पेटको बिकार हटेर जान्छ।

५. अनुहारमा डन्डिफोर आउने समस्या छ भने कागतीको रसमा दही मिसाएर एक महिनासम्म लगाउनाले डन्डिफोर हट्ने र अनुहार चम्किलो हुन्छ।

६.कागतीको बोक्रा पिँधेर त्यसको लेप शीरमा लगाएमा माइग्रेन ठिक हुन्छ।

७.कागतीको एक टुक्रामा कालो नुुन मरिच हालेर खानाले चक्कर लाग्न छोड्छ र, उल्टी आउन रोकिन्छ।

८.भिटामिन सी र एन्डिअक्सिडियन्टयुक्त कागतीको सेवनले शरीरमा रहेका अनावश्यक तत्व नष्ट गर्दछ, र क्यान्सर हुने खतराबाट बचाउँछ।

९.कागतीमा पाइने सुक्ष्म जीवप्रतिरोधी तत्वले श्वासमा हुने दुर्गन्ध हटाई मुखमा हुनसक्ने रोगबाट बचाउन मद्दत गर्छ।

१०.नियमित कागती पानीको प्रयोगले आन्द्रामा रहेका बिकार सफा गर्नुका साथै पाचन प्रणालीलाई मजबुत बनाउँछ।

११. गिजाबाट रगत आउने समस्या छ भने कागती सेवन गर्दा फाइदा पुग्छ। कागतीको प्रयोगले गिजाबाट रगत बग्ने समस्यालाई कम गर्दछ।

१२.रुघाखोकी लागेको समयमा कागती पानी र महको सेवन गर्नु पर्दछ, यसले रुघाखोकी ठिक पार्दछ।

१३.नियमित खानासँगै कागती सेवन गर्दा खाना पचाउन सहज हुन्छ।

प्रस्तुतिः पवित्रा खड्का