चितवन मेडिकल केजलमा इन्टरनेशनल सर्जन चिकित्सकको अन्तर्राष्ट्रिय भेला (भिडियो)

चितवन : कलेजो, अग्न्याशय (प्यान्क्रियाज भर्टेब्रा) तथा पित्त नलीको शल्यक्रियागर्ने चिकित्सकहरुको अन्तर्राष्ट्रिय भेला चितवनमा सुरु भएको छ । भरतपुरस्थित चितवन मेडिकल कलेज(सीएमसी)मा शुक्रबार सुरु भएको भेलामा पाँचवटा देशका ख्यातिप्राप्त चिकित्सकहरु सहभागि छन् ।

कलेजो, अग्न्याशय तथा पित्त नलीको अप्रेशनगर्ने चिकित्सकहरुको संस्था इन्टरनेशनल हेप्टो प्यान्क्रियाज विलरी एशोसिएसन(आइएचपीबीए)ले बेला–बेलामा यस्तो भेलागर्ने गरेको छ । नेपालमा तेश्रो पटक यस्तो भेला हुँदेछ । चितवनमा भने पहिलो पटक भएको हो । भेलामा जापान, भारत, सिंगापुर र नेदरल्याण्डसका सर्जन चिकित्सकहरु सहभागि छन् ।
शल्यक्रियाका बिधिहरु चिकित्सक अनुसार फरक हुने भएकाले भेलामा सबै क्षेत्रका चिकित्सकहरुको अनुभव र उपलब्धी बारे अनुभव हुने चितवन मेडिकल कलेजका सर्जन डा. प्रज्ञान ख्यान्जुआले बताए । “कलेजो, अग्न्याशय तथा पित्त नलीको अप्रशन सबैभन्दा कठिन हुन्छ । अप्रेशन पश्चात देखिने समस्या पनि धेरै हुन्छन्”, उनले भने, “तिनै समस्याहरुलाई कमगर्न सबै चिकित्सकहरु एक ठाउँमा भेला हुने गरिएको हो ।”

उनले यस्तो सेमिनारमार्फत शल्यक्रियामा एकरुपता आउनुका साथै शल्यक्रिया पछि देखिने समस्यामा पनि कमी आउने विश्वास व्यक्त गरे ।
कार्यक्रममा बोल्दै कलेजका अध्यक्ष प्रा.डा.हरिशचन्द्र न्यौपानेले यस्ता अन्तर्राष्ट्रिय सेमिनारहरुले स्वास्थ्यको क्षेत्रमा चितवन अग्रणी क्षेत्र हो भन्ने प्रमाणित हुँदै गएको बताए । “यस्ता कार्यक्रमहरुमार्फत चितवनको विषयमा अन्तर्राष्ट्रिय क्षेत्रको ध्यान तान्न सकिन्छ भन्ने विश्वास हाम्रो छ”, उनले भने, “यो हामी सबैका लागि ठूलो अवसर हो ।” उनले नेपाली चिकित्सकहरुका लागि आफ्ना सीप देखि समस्यासम्म राख्ने अवसर भएको बताए ।
सेमिनारमा जापानको होक्इदो युनिभर्सिटीका डा.ताकेहिरो नोजी, त्रिवि शिक्षण अस्पतालका निवृत्त प्रो.डा महेश खकुरेल, त्रिविका डा.पलेस्वा जोशी लाखे, चितवन मेडिकल कलेजकी सर्जन डा.चेतन योन्जन तामाङलगायतले धारणा राखेका थिए । उनीहरुले कलेजो, अग्न्याशय तथा पित्त नलीको शल्यक्रियाको जटिलताको बारेमा बोल्दै यी समस्याको समाधानका लागि यस्ता कार्यशाला फलदायी हुने बताए ।