उद्योग वाणिज्य संघ चितवनको अधिवेशन : काँग्रेस र कम्युनिष्टको घटक निर्माण

चितवन : अघिल्लो वर्षहरुमा जस्तै यस वर्ष पनि उद्योग वाणिज्य संघ चितवनको निर्वाचनमा काँग्रेस कम्युनिष्टबीच प्रतिस्पर्धा हुने भएको छ । संस्थापन पक्षबाट चलाखीपूर्ण रुपमा वरिष्ठ उपाध्यक्षमा निर्विरोध निर्वाचित भएका चुननारायण श्रेष्ठले संस्थापन छोडेर काँग्रेस घटकलाई समर्थन गर्न पुगेपछि दलीय विभाजन प्रष्ट देखिएको हो ।
यसअघि अधिवेशनलाई सर्वसम्मत बनाउने भन्दै पूर्व वरिष्ठ उपाध्यक्ष राजु श्रेष्ठ र हालका वरिष्ठ उपाध्यक्ष चुननारायण श्रेष्ठबीच गोलाप्रथाबाट अध्यक्षको चयन गरिएको थियो । चुनावी प्रकृया सुरु हुनभन्दा अघिल्लो दिन पुराना व्यवसायी ज्ञानेन्द्रमान शाक्यले अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेसँगै व्यवसायीको चुनावले रौनकता ल्याएको थियो । ज्ञानेन्द्रमान शाक्य र राजु श्रेष्ठले अध्यक्षमा उम्मेदवारी दिएका छन् भने विष्णुप्रसाद कँडेलले वरिष्ठ उपाध्यक्षमा दिएको उम्मेदवारी फिर्ता गराइएको छ ।
विष्णुप्रसाद कँडेल र चुननारायण श्रेष्ठ दुवै काँग्रेस निकटका व्यवसायी हुन् । सर्वसम्मत रुपमा नेतृत्व चयन गर्ने विषयमा श्रेष्ठले साथ दिएको जस्तो गरेपछि नेकपाका समर्थित व्यवसायीहरुले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी नदिएपछि श्रेष्ठ खुलेरै काँग्रेसी व्यवसायीको समर्थनमा पुगे । श्रेष्ठको यो क्रियाकलापले आगामी निर्वाचनमा उनलाई असर पुग्ने व्यवसायीहरुको आँकलन छ ।
अध्यक्षका उम्मेदवार ज्ञानेन्द्रमान शाक्य काँग्रेस निकटका व्यवसायी हुन् भने राजु श्रेष्ठ नेकपा समर्थित व्यवसायी हुन् । व्यवसायीको अधिवेशन समेत राजनीतिबाट मुक्त बन्न सकेन । बजारका अग्रज व्यवसायीहरुले काँग्रेसले नै शाक्यलाई उम्मेदवारी दिन लगाएको समेत बताउन थालेका छन् ।
शाक्यलाई काँग्रेसको भोट त आउने नै भयो । त्यसका अलावा राजु श्रेष्ठ नेकपाको उम्मेदवार भएपनि उनीलाई पार्टी निकटकै व्यवसायीले मन नपाउने गरेको चर्चा समेत बजारमा छ । यसो हुँदा नेकपाको भोट समेत शाक्यले लिएर अध्यक्ष पड्काउने दाउमा शाक्य लागेका छन् ।
यदि नेकपा समर्थित भोट राजु श्रेष्ठले बचाउन सकेनन् भने यस पटकको चुनावमा पनि राजुलाई निकै कठिन देखिन्छ । राजु व्यवसायी मात्रै नभएर खेलाडी समेत हुन् । तर उनी राजनीतिक कुटिरतामा कमजोर मानिन्छन् ।
वरिष्ठ उपाध्यक्ष, अध्यक्ष र सर्वसम्मत भएका अन्य केही सदस्य बाहेकका पदमा काँग्रेस र कम्युनिष्टको प्यानल नै खडा भएको छ । सामाजिक सञ्जालमा भोट माग्ने क्रममा समेत दलको राजनीति प्रष्ट देखिएको छ । अध्यक्षमा राजु सहित कम्युनिष्ट निकटका व्यवसायीको नाम राखिएको छ भने ज्ञानेन्द्रमान सहित काँग्रेस निकटका व्यवसायीको फोटो राखेर भोट माग्न थालिएको छ ।
यस्तै संघको तीन जना उपाध्यक्ष निर्विरोध निर्वाचित भएका छन् । उद्योग तर्फको उपाध्यक्षमा चिरञ्जीवि सुवेदी, वाणिज्य तर्फ सुमन कुमार श्रेष्ठ र वस्तुगत कर्पोरेट, क्षेत्रीय संगठित सदस्यतर्फको उपाध्यक्षमा भोजराज कौडेल निर्विरोध निर्वाचित भएका छन् ।
यस्तै सदस्यहरुमा उद्योग, वाणिज्य, वस्तुगत र महिला उद्यमीतर्फ निर्वाचन हुने भएको हो । दुई जना कर्पोरेट सदस्य र एक जना क्षेत्रीय संगठीत सदस्य निर्विरोध निर्वाचित भएका छन् । उद्योग तर्फको कार्यसमिति सदस्यमा अशोक अधिकारी, इ.कृष्णप्रसाद रिजाल, दुर्गाप्रसाद गौतम, विनोद पौडेल, भानुभक्त न्यौपाने, योगिता पिया, लिलबहादुर क्षेत्री, सोमप्रसाद काप्रीले उम्मेद्वारी दिएका छन् ।
त्यस्तै वाणिज्यतर्फ सदस्यमा आनन्दराज राउत, चेतनारायण सापकोटा, थिरप्रसाद धिताल, पाण्डव ढकाल, बद्री पौडेल, राजेन्द्र सिग्देल, लक्ष्मी रिमाल पौडेल, विकास थापा, शिवप्रसाद ओझा, ज्ञानुप्रसाद ओझाले उम्मेद्वारी दर्ता गराएका छन् । यसैगरि वस्तुगत सदस्यतर्फ इश्वरीप्रसाद खराल, तारानाथ पाठक, दुर्गादत्त कँडेल, धनप्रसाद पोख्रेल, विनोदप्रसाद तिमिल्सिना, शर्मिला न्यौपाने, हेमराज पौडेलले उम्मेद्वारी दर्ता गराएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।
त्यस्तै महिला सदस्यमा समेत निर्वाचन हुने भएको छ । एक जना महिला सदस्यका लागि विमला अधिकारी र रजनी मास्केको उम्मेद्वारी परेको छ । यसैगरि कर्पोरेट तर्फको सदस्यमा भने राजेन्द्र ओली र शिरिष पन्त, क्षेत्रीय संगठित सदस्यतर्फ मुक्तिकुमार श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् ।