स्वास्थ्य प्रति संवेदनशील बनौँ

सम्पादकीय  : आहार बिहारका कारण नेपालमा वर्षेनि नसर्ने रोगका बिरामीहरु बढ्दै गइरहेका छन् । व्यस्त जीवन, अव्यवस्थित दिनचर्या, खानपान र तनावग्रस्त जीवन नसर्ने रोगका प्रमुख कारणहरु हुन् । नसर्ने रोगमा पनि मुटु रोगीको सङ्ख्या नेपालमा उच्च हुँदै गइरहेको छ । नेपालमा वार्षिक हुने मृत्यदरमा १४.२४ प्रतिशत मुटुरोगकै हिस्सा रहेको एक अध्ययनले देखाएको छ । केही समयअघि सार्वजनिक प्रतिवेदनका अनुसार अनुसार अधिक धुमपानले २३.८, तनावले २१.५, मधुमेहले १० र शारिरीक व्यायामको कमीले ५. ५ प्रतिशतमा मुटुरोग देखिएको छ । नेपालीहरुको खानामा पोषणयुक्त फलफूल, हरियो सागपातको मात्रा नमिल्दा पनि समस्या देखिएको अध्ययनले देखाएको छ । कुल जनसंख्याको २० प्रतिशत जनसंख्या कुनै न कुनै प्रकारको मुटुरोगबाट ग्रस्त भएको अनुमान गरिएको छ । खानपानमा भएको लापरबाहीले सानै उमेरमा देखिने मुटुरोगले ठूलो समस्या समेत उत्पन्न गरेको छ ।
सबैलाई थाहा छ, मुटु मानव शरीरको सबैभन्दा महत्वपूर्ण अङ्ग हो । यही अङ्गमा खराबी देखिएपछि त्यसको प्रभाव सबै अङ्गमा पर्नु अस्वभाविक होइन । यस्तो अवस्थामा मुटुरोगबाट बच्न र बचाउनको लागि मानिसको दिनचर्या परिवर्तन गर्नुपर्ने आवश्यकता पनि देखिएको छ । बढ्दो वातावरणीय प्रदुषण, खानपानमा देखिएको लापरबाही नियन्त्रण पनि मुटुरोग नियन्त्रणको लागि सहायक सिद्ध हुन सक्छन् । मानिसको जीवन व्यस्त हुँदै गएको छ, तनाव बढ्दो छ । त्यसैगरी वातावरणमा बढ्दै गएको प्रदुषण, खानपानमा देखिएको लापरबाही र अस्वभाविक दैनिक जीवनले मानवीय स्वास्थ्य जोखिममा परेको छ । अझ, नेपालको सन्दर्भमा त यहाँ पाइने सबैजसो खानेकुराहरु मिसावटरहित हुन सकेका छैनन् । मिसावटयुक्त खानेकुराले सबैभन्दा पहिला मुटुमा नै क्षति पु¥याउने गरेको छ । युवाहरुमा बढ्दो मध्यपान र धुमपानको लतले पनि रोग निम्त्याउने बाहेक केही गरेको छैन ।
अहिले देखिएका खराब प्रवृत्ति अन्त्य र नागरिकलाई स्वस्थ जीवनतर्फ लैजानको लागि जनचेतना अभिवृद्धिको कार्यक्रमलाई तीव्र बनाउनुपर्ने भएको छ । नेपालका नागरिकहरु भने स्वास्थ्यको आधारभूत अधिकारबाट बञ्चित छन् । सरकारी लापरबाही र बढ्दो निजीकरणले उपचार नपाएर मृत्युवरण गर्नुपर्ने अवस्था सिर्जना भएको छ । राजधानीमा मुटुरोगको लागि उपचारको व्यवस्था भए पनि मोफलसमा त्यस्तो विशेषज्ञ सेवाको अभाव छ । मुटुसम्बन्धि केही समस्या देखियो भने मानिसको जीवन नै मृत्यु र जीवनको दोसाँधमा पर्न पुग्छ । यो अवस्था अन्त्यको लागि राज्यले ध्यान दिनुपर्छ । मुटु रोगको उपचार निकै महङ्गो हुने भएकाले खानपान र आहारबिहारमा ध्यान दिँदै आफ्नो मुटु बचाउन तर्फ सबै नागरिक सचेत हुनुपर्ने दिन आइसकेको छ ।