एनआरटीद्धारा पुलिस क्लब १-० ले पराजित

काठमाडौं : न्युरोड टिम (एनआरटी) ले कतार एयरवेज सहिद स्मारक ए डिभिजन लिगमा नेपाल पुलिस क्लबलाई १-० गाेलले पराजित गरेकाे छ।

दर्शन गुरुङले ७६औं मिनेटमा गोल गरेकाे एक मात्र गाेलमा एनआरटी विजयी भएकाे हाे । दशरथ रङ्‌गशालामा भएकाे खेलमा राजेश परियारले मैदानको लगभग बीच भागबाट दिएको पासलाई उनले पेनाल्टी एरियाभित्रबाट प्रहार गर्दै गोलमा परिणत गरेका थिए।

सुरुआतदेखि नै दुवै टोलीले पाएका मौका सदुपयोग गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो। एनआरटीका प्रकाश बुढाथोकीले १०औं मिनेटमा गरेको क्रस बाहिरिएको थियो। त्यस्तै १७औं मिनेटमा प्रकाश पुनः गोल गर्नबाट चुकेका थिए।

अशोक थापाले प्रहार गरेको कर्नरमा प्रकाशको हेडर बाहिरिएको थियो।

एनआरटीका जोर्डन एन्डेम्बाले ५५औं मिनेटमा पेनाल्टी एरिया भित्रबाट गरेको प्रहार बाहिरिएको थियो।

पुलिसका भोला सिलवालको पासमा जुमानु राईले ६५औं मिनेटमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार एनआरटीका गोलकिपर अजित प्रजापतीले बचाएका थिए।

एनआरटीकै राजेश परियारले ६७औं मिनेटमा पेनाल्टी एरियाभित्रबाट गरेको प्रहारमा पुलिसका गोलकिपर सत्रुधन चौधरी बाधक बनेका थिए।

राजेशको क्रसमा एन्डेम्बाले ७१औं मिनेटमा हेडरमार्फत गरेको प्रहार पुनः पुलिसका गोलकिपर सत्रुधनले बचाएका थिए।

पुलिसका अन्जन राईले इन्जुरी समयमा पेनाल्टी एरिया बाहिरबाट गरेको प्रहार क्रसबारमा लागेर फर्केको थियो।