एनआरएनए मलेसियाका अध्यक्ष भट्टराईको १४ लाखको चेक नै नक्कली

क्लालालाम्पुर : गैरआवासीय नेपाली संघ (एनआरएनए) मलेशियाका अध्यक्ष हरि भट्टराईको चेक नै नक्कली भएको खुलासा भएको छ । एनआरएनए श्रमिक कल्याणकारी कोषमा सहयोग हस्तान्तरण गरेको चेक नै नक्कली भएको रहस्य खुलेको हो ।

२०७६ भदौ ६ मा एनआरएनए मलेसियाको अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका भट्टराईले चेकमार्फत् ५० हजार रिंगेट अर्थात् १४ लाख नेपाली रुपियाँ श्रमिक कल्याणकारी कोषमा चेकमार्फत हस्तान्तरण गरेका थिए ।

भट्टराईले मलेसियमा रहेका मजदूरको पक्षमा काम गर्न कल्याणकारी कोषमा चेकमार्फत् दिएको रकम अहिलेसम्म कोषको खातामा जम्मा हुन सकेको छैन । अध्यक्ष भएको पाँच महिना बितिसक्दा पनि भट्टराईले दिएको चेकको रकम कोषमा जम्मा नभएपछि चेक नै नक्कली खुलेको हो ।

एनआरएनए मलेशियाका एक अधिकारीका अनुसार, सन् २०१९ डिसेम्बर २८ मा एनआरएनए कार्यसमितिको बैठकले कल्याणकारी कोषमा रकम जम्मा गर्न आदेश दिएको थियो । तर कल्याणकारी कोषका एक पदाधिकारीले भट्टराईको चेक नक्कली भएको दावी छ ।

चेक नक्कली हुदाँ कल्याणकारी कोषमा अझै रकम जम्मा हुन नसक्दा समग्र एनआरएनकै वद्नाम भएको भन्दै तत्काल रकम जम्मा गर्न मलेसिया एनआरएनले आग्रह गरेको छ। तर यस विषयमा भट्टराईसँ पटक-पटक बुझ्न खोज्दा उनी सम्पर्क आउन चाहेनन् ।