चीनले बनायो विना ड्राइभर चल्ने रेल : यस्तो छ रेलको विशेषता

ऐजेन्सी : तीव्र गतिको रेलवे सेवमा चीनले अर्को ठूलो उपलब्धि हासिल गरेको छ । २०२२ बेइजिङ विन्टर ओलम्पिक्सको तयारी अन्तर्गत चीनले ३५० किलोमिटर प्रति घण्टाको रफ्तारमा चल्ने ड्राइभरविनाको हाइ–स्पिड अटोमेटिक रेल सञ्चालनमा ल्याएको छ ।

यस रेलवे सेवाले ओलम्पिक आयोजना गरिने शहर जाङजिआकोउलाई राजधानी बेइजिङसँग जोड्नेछ ।
यसअघि यी दुई शहरबीच यात्रा गर्नु पर्दा तीन घण्टा लाग्थ्यो तर यो रेल सेवा मार्फत अब ४७ मिनेटमै सो दुरी पार गर्न सकिने बताइएको छ ।

चीनको यस फुक्सिङ सिरिज बिना कुनै मानव सञ्चालक चल्न सक्ने हुनाले पनि यसबारे व्यापक चर्चा हुँदै आएको छ ।

यस विषयमा यो विश्वकै पहिलो ‘स्मार्ट हाइ स्पिड बुलेट ट्रेन’ बन्न सफल भएको छ ।

यसलाई निर्माण गर्न चीनलाई चार वर्ष लागेको थियो । जिन–जिआङ हाइ–स्पिड रेलवेले मुख्यगरी बेइजिङ, यानकिङ र जाङजिअकोउलाई सिधा कनेक्ट गर्दछ । यी तिनैवटा शहरमा आगामी विन्टर ओलम्पिक्स हुनेछ । यस रुटमा १० वटा स्टेसनमा रेल रोकिनेछ ।

कति स्मार्ट छ त यो नयाँ ट्रेन र?

पहिलोपटक सञ्चालनमा आउँदा यो नयाँ रेल बेइजिङको उत्तरी स्टेसनबाट तेइजिछेङ रेलवे स्टेसनसम्म पुगेको छ ।

यसको आधिकारिक वेबसाइट हेर्दा अहिले बेइजिङ र जाङजीआकोउ बीच तीसवटा बुलेट ट्रेन चलिरहेको देखाइएको छ तर ती मध्ये ६ वटा मात्र नयाँ ‘स्मार्ट रेल’ भएको उल्लेख गरिएको छ ।

यसको टिकट शुल्क भने साधारण हाइ–स्पिड ट्रेनका लागि ११ देखि ३३ डलर र स्मार्ट ट्रेनका लागि चाहिँ १२ देखि ३८ डलरसम्म लाग्ने बताइएको छ ।

त्यस्तै स्मार्ट ट्रेनको लागि कुनै पनि टिकट दुई दिन अगाडि नै बुकिङ गरिसक्नुपर्ने बताइएको छ ।

यसलाई स्मार्ट रेल भनिनुका पछाडि भने थुप्रै कारणहरु देखाइएको छ ।

जस्तै प्रत्येक क्यारिएजमा फाइभ–जी सिग्नल उपलब्ध छ भने इन्टेलिजेन्ट लाइटिङ पनि जडान गरिएको छ ।

त्यस्तै सञ्चालनका समयमा कुनैपनि असाधारण अवस्थाबारे पत्ता लगाउन र सबै डाटाहरु संकलन गर्न २,७१८ सेन्सर पनि राखिएको छ ।

त्यस्तै सबै सिटमा आफ्नै टचस्क्रिन कन्ट्रोल प्यानल र वायरलेस चार्जको सुविधा रहेको छ ।

यसरी यो रेलले आफेँ इन्जिन सुरु गर्ने, गति सिमित गर्ने र अटोमेटिक रोकिने भए पनि एकजना निरीक्षक ड्राइभर सधैँ सवार हुने बताइएको छ ।

त्यस्तै यिनका स्टेसनमा भने रोबोट, फेसियल रिकग्निसन प्रणाली लगायतका प्रविधिले यात्रुहरुलाई दिशा देखाउने, लगेज व्यवस्थापन गर्न र विनापेपर चेक–इन गर्नमा मद्दत गर्नेछन् ।

सो रेलको इन्टेरियर डिजाइन खेलाडी र संचारकर्मीहरुलाई ध्यानमा राखेर तयार गरिएको थियो ।

यस्तोमा केही क्याबिनहरुमा खेलका विभिन्न उपकरणहरु राख्न ठुलो क्षेत्र पनि छुट्याइएको छ जसलाई क्यु–आर कोड मार्फत लक गर्न र खोल्न सकिनेछ ।

त्यस्तै डाइनिङ कारलाई भने संचारकर्मीहरुका लागि मिडिया सेन्टरमा पनि परिणत गर्न सकिने बताइएको छ जसका सिट सजिलै एड्जस्ट गर्न मिल्छ ।

क्यामरालगायत धेरै उपकरणहरु बोकेर यात्रा गर्ने संचारकर्मीहरुका लागि भनेर त्यस्तो डिजाइन निर्माण गरिएको हो ।

यता ह्विलचियर मार्फत यात्रा गर्नेहरुका लागि भनेर पनि सिटहरु निकाल्न मिल्नेगरि व्यवस्थित गरिएको छ ।

तर चीनका रेलवेप्रति उत्साहित हुनेहरु अर्को ऐतिहासिक कारणले पनि यस उपलब्धीप्रति विशेष खुसी छन् ।

वास्तवमा जिङ–जिआङ रेलवे पहिलोपटक १९०९ मा उद्घाटन गरिएको थियो जुन चीनले स्वतन्त्र रुपमा निर्माण गरेको पहिलो रेलमार्ग थियो ।

त्यतिखेर सो रुटको यात्रा पूरा गर्न आठ घण्टा लाग्थ्यो ।

यसबीच सो लाइनका बाँकी रहेका केही पुराना स्टेसनहरु २०१६ मा बन्द भएको थियो र त्यसको सट्टामा नयाँ हाइ–स्सिपड रेलवेको काम सुरु गरिएको हो ।

आज चीन विश्वकै सबैभन्दा ठूलो हाइ–स्पिड रेल नेटवर्क, ३५ हजार किलोमिटरका रेलमार्गको घर मानिन्छ भने व्यवसायिक रुपमा सबैभन्दा तिव्र गतिको रेल पनि चीनमै सञ्चालन भइरहेको छ ।