दिलीप प्रकरणमा ईन्स्पेक्टर यादव जिल्ला तानिए

जनकपुरधाम : दिलीप महतो प्रकरणमा ढल्केवरका प्रहरी निरीक्षक (ईन्स्पेक्टर) रामकुमार यादव जिल्ला तानिएका छन् ।

धनुषाको मिथिला नगरपालिका वडा नं. ५ श्रीपुरमा दिलीपको हत्यापश्चात शवको मुचुल्का नगरी प्रादेशिक अस्पतालमा पठाएपछि प्रहरी निरीक्षक यादवलाई जिल्लामा तानिएको हो ।

हत्यामा संलग्न रहेकासँग प्रहरी निरीक्षक यादवको मिलेमतो रहेको आरोप दिलीप परिवारजनले लगाउँदै आएको छ ।

परिवारजनसहित गाउँका स्थानीयले प्रहरीकै मिलोमतोमा दिलीपको हत्या गरिएको आरोप लगाउँदै शवको पोस्टमार्टम गर्नमा समेत रोक लगाएका थिए ।

स्थानीयको कडा विरोध पछि करीव ३९ घण्टापछि शवको पोस्टमार्टम भएको थियो ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले प्रहरी निरीक्षक यादवलाई कारवाही गरेर नभई जिल्लामा खाँचो रहेकोले मात्रै तानिएको बताएका छन् ।

अवैध उत्खननको विरोध गर्दै आएका दिलीपको शुक्रबार बिहान करिब ४ बजेको समयमा क्रसर उद्योग नजिकै औरही खोलाको बगरमा हत्या भएको थियो ।

फलामको लिभरले दाहिने कोखामा घोचेर घाइते बनाएपछि दिलीपलाई टिपरले किचेर हत्या गरिएको थियो ।

घटनामा संलग्न रहेको आरोपमा धनुषा प्रहरीले चार जनालाई समातेर शनिबार राति सार्वजनिक समेत गरेको छ ।

प्रहरीले प्रमुख योजनाकार क्रसर सञ्चालक विपीन कुमार महतोसहित टिपर चालक मुनिन्द्र महतो, अनटेस्ट लोडर चालक जितेन्द्रकुमार महतो र दिलीपका साथी रोशनकुमार यादवलाई पक्राउ गरेर सार्वजनिक गरी सकेको छ ।