लेखा अधिकृत २२ हजार घुससहित पक्राउ

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वाधार विकास कार्यालय ३ नं. प्रदेश ललितपुरका लेखा अधिकृत विष्णुहरि पुडासैनीलाई २२ हजार रुपैयाँ घुस रकमसहित पक्राउ गरेको छ।

अख्तियारको टोलीले सेवाग्राहीसँग २२ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका वडा नं. १३ एकान्तकुनाबाट उनलाई पक्राउ गरेको हो।

पूर्वाधार विकास कार्यालय ३ नं. प्रदेश ललितपुरका लेखा अधिकृत पुडासैनीले सडक निर्माण कार्यको लागि टेण्डर सम्झौता भई काम हुँदै गर्दा मोबिलाइजेसन पेस्की लिनका लागि आएका सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान गरेको थियो। यसैक्रममा उनलाई घुससहित अख्तियारको टोलीले पक्राउ गरेको थियो। उनीमाथि अहिले थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ।