प्रधानसेनापति पहिलोपटक आफ्नै जहाजमा विदेश भ्रमणमा

काठमाडौं : प्रधानसेनापति पूर्णचन्द्र थापा नेपाली सेनाको एम-२८, स्काइट्रक विमान चढेर बंगलादेश गएका छन्। बंगलादेशका सेना प्रमुख अजिज अहमदको औपचारिक निमन्त्रणामा उनी आइतबार त्यसतर्फ प्रस्थान गरेका हुन्।

नेपालको प्रधानसेनापतिले आफ्नै विमान चढेर अर्को देशको भ्रमणमा गएको सम्भवतः नेपालको इतिहासमा यो पहिलोपटक हो। प्रधानसेनापति थापा सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बंगलादेश गएका हुन्।

प्रधानसेनापति चढेर बंगलादेश गएको स्काइट्रक यही पुस २ गते अमेरिकाले नेपाली सेनालाई हस्तान्तरण गरेको थियो। अमेरिकाले नेपाली सेनालाई एकसाथ साढे दुई अर्ब रुपैयाँ बराबरका दुईवटा स्काईट्रक प्रदान गरेको थियो। प्रधानसेनापति थापा तिनै दुईमध्ये एक स्काइट्रकमा आइतबार बंगलादेश गएका हुन्।

प्रधानसेनापति थापालाई बलाधिकृत रथी शरदकुमार गिरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए।

‘भ्रमणको दौरानमा प्रधानसेनापतिले बंगलादेशका बिभिन्न सैनिक युनिटको भ्रमण, उच्चस्तरीय पदाधिकारीसँग भेटवार्तालगायत ऐतिहासिक स्थलसमेत भ्रमण गर्ने कार्यक्रम छ,’ नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयद्वारा आइतबार जारी विज्ञप्तिमा उल्लेख छ।

बंगलादेशको औपचारिक भ्रमण सम्पन्न गरी माघ १ गते स्वदेश फर्कने उनको कार्यक्रम रहेको छ। प्रधानसेनापति बंगलादेश रहँदा बलाधिकृत रथी शरदकुमार गिरीले कायममुकायम प्रधानसेनापतिको कार्यभार सम्हाल्ने छन्।

‘यस किसिमको उच्चतहको सैनिक नेतृत्व वर्गको भ्रमणले नेपाली सेना र मित्रराष्ट्र बंगलादेशी सेना बीच रहँदै आएको आपसी सौहार्दपूर्ण सम्बन्धको साथै द्विपक्षीय आपसी हित र पारस्परिक सम्बन्धलाई थप सुमधुर एवं प्रगाढ बनाउन मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ विज्ञप्तिमा भनिएको छ।