देवघाटमा माघेसंक्रान्ति मेलाको तयारी तीव्र, पहिलोपटक सेना पनि खटिँदै

चितवन : तनहुँ, चितवन र नवलपरासीको संगमस्थल देवघाटमा लाग्ने माघेसंक्रान्ति मेलाको तयारी तीव्र पारिएको छ । गत वर्षहरुमा भन्दा अझै बढी व्यवस्थित र सहज स्नान गर्न सकिने गरी मेला व्यवस्थापन तथा सुरक्षाको काम अघि बढाइएको देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।

हरेक वर्ष माघेसंक्रान्तिका अवसरमा देवघाटधाममा ठूलो मेला लाग्ने गर्दछ । माघेसंक्रान्ति मेला भर्न नेपालका विभिन्न जिल्लासहित भारतबाट समेत भक्तजन आउने गर्दछन् ।

त्रिशूली र कालीगण्डकी नदीको संगमस्थलमा भक्तजनहरुको घुइँचो लाग्ने हुँदा मेलालाई सुरक्षित र सहज बनाउन हरेक वर्ष चुनौती सामना गर्नुपर्ने क्षेत्र विकास समितिका अध्यक्ष पौडेलले बताउँछन् ।

संक्रान्ति मेलालाई व्यवस्थित बनाउन १५ वटा विभिन्न उपसमितिहरु बनाएर काम अघि बढाइएको छ । मेलामा खानेपानी, विद्युत, यातायात, जलयात्रा, पार्किङ, प्राथमिक उपचारलगायतका विषयमा कुनै पनि गुनासो नआउने गरी तयारी अघि बढेको समितिको भनाइ छ ।