देवघाटमा माघे संक्रान्ति मेलाको तयारी तीव्र

चितवन : देवघाट क्षेत्र बिकास समितिले माघे संक्रान्ति मेलाको तयारी तिब्र पारेको जनाएको छ । देवघाटधाममा माघ १ गते हुने संक्रान्ति मेलाको तयारी स्वरुप देवघाटको चितवन र तनहुँ दुवै तर्फ दर्शनार्थीहरुलाई हिड्न र स्नान गर्न सहज होस् भनेर बाटो सम्याउने, ढुङ्गा राख्ने काम भैरहेको देवघाट क्षेत्र बिकास समितिका अध्यक्ष एवं माघे संक्रान्ति मेला व्यवस्थापन समितिका संयोजक शिवराज पौडेलले जानकारी दिए ।

अध्यक्ष पौडेलले देवघाटमा आउने दर्शनार्थीको भिडलाई ख्यालमा राखेर विभिन्न उपसमिति मार्फत काम भैरहेको बताए ।  विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि माघे संक्रान्तिमा हुने देवघाट मेलाको पूर्व सन्ध्यामा देवघाटधामको वेणी संगममा सरसफाई गरीएको अध्यक्ष पौडेलले जानकारी दिए ।

क्षेत्र बिकास समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले देवघाटधाममा हुने माघे संक्रान्ति मेलाको तयारी अहिले अन्तिम चरणमा पुगेको भन्दै सुरक्षाकै कारण देवघाटमा मदिरापान निषेध गरिएको बताए ।

कार्यकारी निर्देशक घिमिरेले भने, “ मेला र मदिरा संगै जान सक्दैन । मेलामा आउने भक्क्तजनलाई सहज रुपमा स्नान र दर्शनका लागि चितव र तनहु तर्फ व्यवस्था मिलाएका छौं ।”   कार्यकारी निर्देशक घिमिरेले यस अगाडी कुरिनटारको गोताखोर टोली मात्रै उद्धारमा खटिने गरेकोमा यस वर्षबाट नेपाली सेनाको गोताखोर टोली समेत थपिएको बताए ।

देवघाटमा पुषको अन्तिम दिन देखि मकर स्नान मेला सुरु हुन्छ । गोसाइकुण्डबाट आएको त्रिशुली र मुक्तिनाथबाट आएको कालिगण्डकी दोभान देवघाटमा माघे संक्रान्तिका दिन नुहाउँदा धार्मिक फल प्राप्त हुने विश्वास छ। स्वदेशका मात्रै नभएर भारतका हिन्दुहरु पनि यस दिनमा स्नान गर्न आउने गर्दछन् । माघे संक्रान्तिमा देवताहरु पनि नुहाउन, तीर्थ गर्न देवघाट आउने धार्मिक कथन रहेको छ।