चितवनमा विषादी प्रयोग मुक्त सप्ताह सुरु

चितवन : कृषि क्षेत्रमा विषादीको अत्याधिक प्रयोग नियन्त्रणका लागि चेतना फैलाउने उद्देश्यले आजबाट विषादी प्रयोग मुक्त सप्ताह सुरु भएको छ । घातक विषादीको प्रयोग हटाऔं जैविक विविधताको संरक्षण गरौं भन्ने नाराका साथ आजबाट २९ गतेसम्म विषादी प्रयोग मुक्त सप्ताह–२०७६ मनाउन लागिएको हो ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तरगतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्र, प्रदेश नं. ३ को बाली संरक्षण प्रयोगशाला ललितपुर र कृषि ज्ञान केन्द्र चितवनको संयुक्त आयोजनामा जिल्लामा प्रभात फेरी सहित सभाको आयोजना गरि विषादी प्रयोग मुक्त सप्ताहको सुरुवात गरिएको हो ।

सात दिन सम्म चल्ने कार्यक्रमको उद्घाटन गर्दै प्रदेश नम्बर तीनका भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले जनतालाई निरोगी बनाउने अभियानलाई किसानको तहसम्म पुर्याउनुपर्ने बताउनुभएको छ । उहाँले एक साता मात्र यस्ता अभियान सञ्चालन गरेर नहुँने भन्दै विषादी मुक्त बनाउनका लागि दैनिक रुपमा लाग्नुपर्ने धारणा राख्नुभयो । उहाँले विषादीको विकल्पमा अर्गानिक उत्पादनलाई जोड दिन आग्रह समेत गर्नुभयो ।

प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापनका अनुसार २४ प्रकारका घातक विषादीमा प्रतिबन्ध लगाइसकेको छ । विश्वमा विषादीयुक्त खानेकुराका कारण वार्षिक ३ लाख बढी मानिसको ज्यान जाने गरेको बताइन्छ ।

खेतबारीमा प्रयोग हुने विषादीले शत्रु जीव मात्रै नभई मित्रु जीव समेत नाश भई इको सिस्टम नै प्रभावित हुने गरेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापनका निमिक्त प्रमुख सहदेवप्रसाद हुमागाईले जानकारी दिनुभयो ।उहाँका अनुसार नेपालमा सन् १९५२ मा पहिलो पटक मलेरिया नियन्त्रणका लागि भित्रिएको विषादीको प्रयोग अत्याधिक छ ।

गत आर्थिक वर्षमा ६ सय ३५ मेट्रिक टन विषादी आयात भएको थियो । तीमध्ये कीटनाशक २ सय २६ मेट्रिक टन, रोगनाशक २ सय ६७, मेट्रिक टन, झारनाशक १ सय ४२ मेट्रिक टन र अन्य १४ मेट्रिक टन रहेका छन् । नेपालमा तरकारीबालीमा प्रतिहेक्टर १६ सय ५ ग्राम विषादी प्रयोग भइरहेको हुमागाईले जानकारी दिनुभयो । नेपालमा जीवनासक विषादी ऐन २०७६ समेत ल्याईएको छ । यसले केही हदसम्म विषादीको प्रयोगमा न्यूनिकरण गर्न सक्ने उहाँको भनाई छ ।

सन् २०१३ देखि नेपालमा विषादी प्रयोग मुक्त सप्ताह मनाउन सुरु गरिएको हो । तर, पनि नेपालमा वार्षिक विषादी आयातका लागि मात्र ८४ करोड रुपैयाँ खर्च भएको छ ।

अन्य देशको तुलनामा तरकारी वालीमा केहि हदसम्म कम विषादी प्रयोग गरिएको छ भनेता प्रभावकारी तथ्यांक केन्द्रसँग रहेको छैनन् । तरकारी बालीमा करीब ८५ प्रतिशत विषादी प्रयोग हुने गरेको छ । मानव स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने विषादीको प्रयो बडेसँगै विभिन्न प्राणघातक रोग समेत फैलने गरेको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सचिव डाक्टर योगेन्द्र कुमार कार्की कार्कीले बताउनुभयो ।
तरकारीमा बिषादी आवश्यकता भन्दा बढी प्रयोग भएको छ । क्यान्सर, उच्च रक्तचाप, मृगौला र कलेजो सम्बन्धी समस्या, मधुमेह, नपुंसकता, बाझोपना, मस्तिष्कमा असर, स्मरणशक्तिमा ह्रास, डिप्रेसनलगायत नसर्ने रोगको एक मुख्य कारण विषादी सेवन रहेको भरतपुर बीपी कोईराला मेमोरियल क्यान्सर अस्पतालका डाक्टर गंगा सापकाटाले जानकारी दिनुभयो । जसका कारण मस्तिष्क मुटु, र क्यान्सर रोगका विरामीहरु बढ्दै गएको उहाँले बताउनुभयो ।

मुलुकमा उत्पादितमध्ये केही स्थानका तरकारीमा मात्र विषादीको मात्राबारे अध्ययन गरिएको छ । तर, विषादीको अवशेषले नेपालीको स्वास्थ्यमा कस्तो प्रभाव गरिरहेको वा गर्न सक्छ भन्नेबारे कुनै अध्ययन छैन ।

“विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) प्रतिवेदनलाई उद्धृत गर्दै सापकोटाले भने, विषादी सम्भावित रूपले मानव स्वास्थका लागि प्रतिकूल हुनुका साथै दीर्घकालीन प्रभाव गरेको छ ।” बाली जोगाउनका लागि प्रयोग गरिने औषधीले छाला, र स्वासप्रसासमा समेत असर गर्ने उनले बताए । स्तनपान गराउने आमाले बढि बिषादी हालेका खानेकुरा खाँदा बालकलाई समेत शारीरिक तथा मानसिक असर पुग्ने उनको भनाई छ ।

जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीको अध्यक्षतामा भएको कार्यक्रममा विषादी न्यूनिकरण सम्वन्धि सचेतना मुलक नाटक समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमको सुरूमा नारायणगढको लायन्सचोकदेखि क्षेत्रपुर हुँदै महानगर तरकारी बजारसम्म विषादी प्रयोगलाई न्यूनीकरण गर्न प्लेकार्डसहित ¥याली निकालिएको थियो ।